कीर्तिमानी आरोही तेन्जेन शिसापाङ हिमपहिरोमा परी बेपत्ता

सफल खबर संवाददाता

सोमबार, २२ असोज २०८०, १५ : ४१
कीर्तिमानी आरोही तेन्जेन शिसापाङ हिमपहिरोमा परी बेपत्ता

file Photo

 काठमाडौं । हिमाल आरोही निर्मल पुर्जाको नाममा रहेको कीर्तिमान तोडेका आरोही गाइड तेन्जेन शेर्पा (लामा) तिब्बतस्थित शिसापाङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका छन् । ८ हजार मिटर माथिका १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेर निर्मल पुर्जाले कीर्तिमानी बनाएका थिए । पुर्जाको नाममा रहेको सो कीर्तिमान तेन्जेन र नर्वेजियन आरोही क्रिष्टिना हारिलाले यसै वर्ष मात्रै तोडेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २० असोजका दिन करिब १ बजे गएको हिम पहिरोमा परी अमेरिकी नागरिक जिना मारिय रजुसिडलो र आरोही गाइड तेन्जेन बेपत्ता छन् ।

नेपाल पर्वतारोहण संघको सचिवालयका अनुसार तेन्जेन उनै कीर्तिमानी आरोही गाइड हुन्, जसले नर्वेजियन आरोही क्रिष्टिना हारिलासँग तीन महिना (९२ दिन)को अवधिमा संसारका ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरी छिटो यस्तो आरोहण गर्ने आरोहीको कीर्तिमान राख्न सफल भएका थिए । यो रेकर्ड २७ जुलाई २०२३ मा बनेको हो ।

हिमपहिरोमा नेपाली गाइड मिङमार शेर्पा र अमेरिकी नागरिक अन्नु गुटु बेपत्ता भएकोमा उनीहरुको सोही दिन निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस