माथिल्लो मैलुङकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन

सफल खबर संवाददाता

सोमबार, २२ असोज २०८०, ०९ : ३४
माथिल्लो मैलुङकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौ । माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने आज सोमबार असोज २२ गते अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा असोज २१ गते साँझ ५ः०७ बजेसम्म ९ लाख ५७ हजार ७१६ जना आवेदकले १ करोड ७ लाख ६८ हजार १६० कित्ताको लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा ८.३८ गुणा बढी आवेदन हो ।

कम्पनीले असोज १८ गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १०% अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आइपीओ ल्याएको हो । यसर्थ, १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् । 

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले डिसेम्बर ९ २०२२ मा उक्त रेटिङ दिएको थियो । यो रेटिङ डिसेम्बर ८, २०२३ सम्म बाहल रहनेछ ।

कम्पनीले रसुवा जिल्लास्थित मैलुङ खेलाको पानी प्रयोग गरी १४.३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन समेत सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस