नर्गिसले जेलमै साटिन् नोबेल पुरस्कार विजेता बनेको खुसी !

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०८०, १० : ५३
नर्गिसले जेलमै साटिन् नोबेल पुरस्कार विजेता बनेको खुसी !

काठमाडौं। पेरिस- अधिकारकर्मी नर्गिस मोहम्मदीले तेहरानको जेलमा रहेका आफ्ना सहकर्मी बन्दीहरूसँगै बसेर नोबेल शान्ति पुरस्कार पाएकोमा खुशी मनाएको उनको परिवारले शनिवार एएफपीलाई जानकारी दिएको छ ।

‘नर्गिसले फोनमा सहज पहुँच रहेको पुरुष युनिटबाट पठाएको सूचनाबाट शुक्रबार उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थाहा पाएकी छिन्,’ उनको परिवारले जानकारी गराएको छ ।

 

सोही दिन साँझ सरकारी टेलिभिजनले नर्गेसको अपमानजनक र चित्रसहित राति १०ः३० बजे समाचार प्रसारण गरेको थियो ।‘नर्गिस र तिनका सहपाठीहरू खुसीले गद्गद् भए र आफ्नो सेलमा यो विजयको उत्सव मनाए,’ उनको पारिवारिक स्रोतले जनाएको छ ।

५१ वर्षीया पत्रकार तथा अधिकारकर्मी नर्गिसले महिलाका लागि हिजाब अनिवार्य लगाउने र मृत्युदण्डको व्यवस्थाविरुद्ध चलाएको अभियानका कारण विगत दुई दशकको अधिकांश समय जेलभित्र र बाहिर बिताएकी छिन् । 

नोबेल शान्ति पुरस्कारको घोषणापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले नर्गिसको ‘अटुट साहस’को प्रशंसा गर्दै इरानलाई उनको रिहाइका लागि आह्वान गरेका थिए ।नोबेल समितिका अध्यक्ष बेरिट रिस एन्डरसनले इरानमा महिलामाथि भइरहेको उत्पीडनविरुद्धको लडाइँ र सबैका लागि मानव अधिकार र स्वतन्त्रताको प्रबद्र्धनका लागि लडेको कारण नर्गिसलाई यो प्रतिष्ठित शान्ति पुरस्कार प्रदान गरिएको बताएका थिए ।

‘प्रजातन्त्र र मानवअधिकारमा उनको प्रयासका लागि सम्मानित इरानी मानवअधिकारवादी वकिल शिरिन इबादीलाई प्रदान गरिएको पुरस्कारको २० औं वर्षगाँठको अवसरमा प्रदान गरिने शान्ति पुरस्कार प्राप्त गर्ने उनी दोस्रो इरानी नागरिक हुन् । नर्गिस इबादीले स्थापना गरेको रक्षक मानवअधिकार केन्द्रकी उपाध्यक्ष हुन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस वर्षको शान्ति पुरस्कार ‘आफ्नो स्वतन्त्रता, स्वास्थ्य र आफ्नो ज्यानको जोखिम मोलेर आफ्नो अधिकारका लागि लडिरहेका सबै महिलाप्रति सम्मान’ भएको बताएका छन् ।संयुक्त राष्ट्रसङ्घले तेहरानलाई नर्गिस र जेलमा रहेका सबै मानवअधिकार रक्षकलाई रिहा गर्न आग्रह गरेको छ ।

इरानले नोबेल समितिले गरेको ‘पक्षपातपूर्ण र राजनीतिक’ कारणका लागि भन्दै शान्ति पुरस्कार घोषणाको विरोध गरेको छ ।विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भने, ‘नोबेल शान्ति समितिले कानूनको बारम्बार उल्लङ्घन र आपराधिक क्रियाकलापमा दोषी ठहर भएका व्यक्तिलाई शान्ति पुरस्कार प्रदान गरेको छ ।’

प्रतिक्रिया दिनुहोस