बलात्कारविरुद्ध चितवनमा विशाल जुलुस निकाल्ने तयारी, कस्तो हुनेछ जुलुसको स्वरुप ? अर्धनग्न वा सभ्य ?

सूर्यप्रकाश कँडेल

बुधबार, ०६ भदौ २०७५, १५ : ४८
बलात्कारविरुद्ध चितवनमा विशाल जुलुस निकाल्ने तयारी, कस्तो हुनेछ जुलुसको स्वरुप ? अर्धनग्न वा सभ्य ?

चितवन । देशका अन्य जिल्लामा जस्तै चितवनमा पनि पछिल्लो समयमा बलात्कारका घटनामा वृद्धि भएपछि चितवनमा रहेका २५ वटा संघसंस्था मिलेर यौनजन्य हिंसाविरुद्धको साझा अभियान चितवन घोषणा गरेका छन् । बुधबार भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी अभियानको घोषणा गरिएको हो ।
अभियान अन्तर्गत पहिलो कार्यक्रम शुक्रबार बिहान भरतपुरमा विरोध जुलुस रहेको छ । कस्तो हुनेछ त यो विरोध जुलुसको स्वरुप ? काठमाडौँमा केही दिनअघि निकालिएको अर्धनग्न जुलुसजस्तो वा सभ्य र भव्य ? अभियानकी सहसंयोजक संगीता भट्टराईले जुलुसका सहभागी सभ्य पोशाकमा उपस्थित हुने र यौनहिंसाविरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेर पैदल हिँड्ने बताउनु भयो । ‘हामीले मौनजुलुस निकाल्न लागेका छौँ’ उहाँले भन्नुभयो, ‘अर्धनग्न वा अन्यखाले हुँदैन । सभ्य र मर्यादित हिसाबले मौन जुलुस निकाल्छौँ ।’
अभियानकी संयोजक मीना खरेलले मदिरा र लागुऔषध सेवन तथा सामाजिक सञ्जालको दुरुपयोगले यौनहिंसा बढाइरहेको बताउनु भयो । उहाँले बलात्कार लगायतका यौनहिंसाविरुद्ध शुक्रबार बिहान भरतपुर ओरालोमा नहरनजिक जम्मा भई जिल्ला प्रशासन कार्यालयसम्म मौनजुलुस निकालिने छ । अभियानका लागि संस्थागत दुई हजार र व्यक्तिगत एक हजार रुपैयाँका दरले रकम संकलन गरिएको खरेलले जानकारी दिनुभयो ।
अभियानकी संयोजक खरेल र सहसंयोजक भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार, चितवन जिल्लामा चालु आर्थिक वर्षको हालसम्मको ३५ दिनमा ११ वटा बलात्कारको जाहेरी प्रहरी कार्यालयमा परेको छ । जसमा केही दिनयता माडी र भरतपुरको बसेनीमा भएका सामूहिक बलात्कारका घटना समेत परेका छन् । आर्थिक वर्ष २०७४/७५ मा बलात्कारका ४५ वटा र बलात्कार प्रयासका २१ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए् । आर्थिक वर्ष २०७३/७४ मा बलात्कारका ३० वटा र बलात्कार प्रयासका २५ वटा घटना दर्ता भएका थिए् ।
‘हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने नारासहित बलात्कारविरुद्ध चितवनका संघसंस्थाहरुले अभियान सुरु गरेका छन् । चितवनमा महिला तथा बालबालिकाको सुरक्षा र विकासका लागि विभिन्न किसिमका सकारात्मक एवं रचनात्मक दबाबमूलक कार्यक्रमहरु साझा रुपमा संचालन गर्न आवश्यक देखिएकोले अभियानको घोषणा गरिएको अभियानमा संलग्न संघसंस्थाको भनाइ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस