मुलुकको दुर्गति हुनुमा शिक्षा प्रणाली कारक : चित्रबहादुर केसी

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १४ : ५८
मुलुकको दुर्गति हुनुमा शिक्षा प्रणाली कारक : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मुलुकको दुर्गति हुनुमा शिक्षा प्रणाली कारक रहेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले जुन देशले शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा लिँदैन त्यो देशको कति विकास भएको छ भन्दै प्रश्न गरे । 

उनले भने– ‘शिक्षाको निजीकरण, व्यापारीकरण भएको छ, शिक्षाको व्यापारीलाई सांसद मात्र भएन भनेर हामी मन्त्री पनि बनाउँछौँ । अहिले यो रोदन देख्दा पो म छक्क परेको छु । त्यसकारण यदि देशलाई ठिक ठाउँमा लैजाने हो भने शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्छ ।’  

अहिले पढेका विद्यार्थीहरूमा यो देशमा केही हुँदैन भन्ने चेतना रहेको बताए । यहाँको भूगोल, इतिहास, संस्कृति, समस्याप्रति केही चिन्तन नहुने र बोर्डिङ स्कुलमा पढ्दै म अमेरिका जान्छु भन्ने चेतना गाडिएको उल्लेख गरे । अमेरिका जाने, अस्ट्रेलिया जाने, त्यही पनि सकिन भने पढ्ने निहुँमा जापान जाने । हामीले अहिलेसम्म गरेको प्रगति नै यही नै हो ।’ 

उनले शिक्षक नियुक्ति र सरुवा स्थानीय तहलाई दिँदा आफ्नो झोला बोक्नेलाई मात्र नियुक्त दिने र अर्को पार्टीलाई लखेट्ने हुँदा शिक्षकहरू आन्दोलन गर्न सहरमा आएको बताए । उनले शिक्षाका कारण धेरै देश माथि पुगेको बताउँदै हाम्रो देश पतन हुनुको कारण नै अहिलेको शिक्षा प्रणाली रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस