काठमाडौं । मुश्लिम धर्मावलम्बीहरुबाट आज आफ्नो चाड बकर इद धुमधामले मनाइँदै छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । प्रदेश १, ५ र २ मा सरकारले आज सार्वजनिक बिदा दिएको छ । अन्य प्रदेशमा सरकारले सार्वजनिक बिदा दिएको छैन । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ ।
नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ । सरकारले बकर इदको शुभकामना दिएको छ । यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको महान् चाड इद उल जोहा (बकर इद)का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
बुधवार एक विज्ञप्ति जारी गर्दै अक्ष्य प्रचण्डले देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।
हामी आर्थिक समृद्धिको चरणमा रहेको बताउँदै प्रचण्डले लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको बताउनु भयो । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव हुने उहाँको धारणा रहेको छ ।
प्रचण्डले भन्नुभयो ‘यस चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
‘यस चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको पनि सन्देश दिएको छ । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो’ विज्ञप्तिमार्पmत अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस