पूर्वराजदूत झा हत्या प्रकरण, अभियुक्तमाथि अनुसन्धान शुरु

पत्रपत्रिकाबाट

बुधबार, ०६ भदौ २०७५, ०८ : ५९
पूर्वराजदूत झा हत्या प्रकरण, अभियुक्तमाथि अनुसन्धान शुरु

काठमाडौं ।  पूर्वराजदूत केशव झाको हत्या अनुसन्धानका लागि नियन्त्रणमा लिइएका तीन जनालाई पाँच दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । सोमबार बिहान बबरमहलस्थित आफ्नै निवासमा झा मृत भेटिएका थिए । प्रहरीले उनको मृत्यु शंकास्पद रहेको भन्दै हत्या भएको बताउँदै आएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ परेकालाई अनुसन्धानका लागि मंगलबार पाँच दिन थुनामा राख्न भन्दै म्याद थपको आदेश दिएको छ ।


प्रहरीले झाकै घरमा सुरक्षा गार्डको काम गर्दै आएका सानु तामाङ र दुई जना मालीलाई अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख धीरजप्रताप सिंहले झाको मृत्यु के कसरी भयो भन्नेमा अनुसन्धान जारी रहेको बताए । ‘अनुसन्धान जारी छ, शंकामा रहेका सबैतर्फ अनुसन्धान बढाएका छौं, चाँडै वास्तविकता पत्ता लाग्छ,’ महाशाखा प्रमुख सिंहले भने । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस