स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०८०, १६ : ४२
स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् ।बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यकर्मीहरुलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रह  गरे ।

उनले वीर अस्पताललाई अझै बिस्तार र सुविधा सम्पन्न बनाउन सरकारले थप लगानी गर्ने प्रतिबद्धता जनाए । उनले नर्सिङ सेवासँग सम्बन्धित देखापरेका जटिलतालाई समाधान गर्नेतिर सरकारले दृढतापूर्वक अघि बढेको बताए ।

प्रधानमन्त्री प्रचण्डले संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरुको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको बताए ।

उनले संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरुको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने बताए ।प्रधानमन्त्री प्रचण्डले हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक रहेको भन्दै राजनीति र जीवन व्यवहार नागरिकको स्वार्थ र हितमा समर्थित गरेर मात्र लोकतान्त्रिक राज्यको औचित्य पुष्टि हुने बताए ।

गरिब, विपन्न, असहाय एवं उपेक्षित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको अधिकार र अवसरका निम्ति राज्यको जिम्मेवारीमा रहेका सबैले कुशलतापूर्वक आफ्नो भूमिका पूरा गर्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस