कहिले होला तरकारीमा सिन्डिकेट र बिचौलियाको अन्त्य ?

पत्रपत्रिकाबाट

बुधबार, ०६ भदौ २०७५, ०८ : ०४
कहिले होला तरकारीमा सिन्डिकेट र बिचौलियाको अन्त्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिचौलिया व्यापारीको सिन्डिकेट हटाउन अहिले दुई मन्त्रालयको सक्रियता देखिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल तरकारी र फलफूलको व्यापारमा देखिएका बिचौलिया निर्मूल पार्ने भन्दै लागिपरेका छन् । कृषिमन्त्री खनालले गत जेठमा कालीमाटी बजारको अनुगमन गरेका थिए भने उद्योगमन्त्री यादव सोमबार कालीमाटीमा व्यवसायीहरुले सरकारी अनुगमन टोलीलाई अवरोध गरेपछि स्थलगत निरीक्षण गर्न पहिलोपटक त्यहाँ गए ।

कृषि मन्त्रालयले कालीमाटीमा एक वर्षयता गरेको अध्ययनका आधारमा त्यहाँभित्रको ‘दुर्गन्धित बिचौलिया’ लाई कारबाही गर्ने गरी आन्तरिक अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानले उत्पादन गरेको ठाउँदेखि कालीमाटीसम्म आइपुग्दा कति ठाउँमा बिचौलिया लाग्छन् र कति मूल्य बढाइन्छ भनेर अध्ययन अनुगमन गरिरहेको छ ।

उद्योग मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाबाहिरका केही जिल्लामा गई किसानले पाउने मूल्य, मुूल्य बढाउने बिचौलिया व्यापारीका विभिन्न तहको अनुसन्धान गरिरहेको छ । सोही अनुसन्धानलाई थप पुष्टि गर्न  सोमबार विभागले कालीमाटी बजारमा अनुगमन गरेको हो ।

कालीमाटी बजार सञ्चालक समितिका अध्यक्ष तथा कृषि मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीका अनुसार कालीमाटीभित्रका ९८ वटा व्यापारीलाई कारबाही गर्ने गरी मन्त्रालयले प्रतिवेदन तयार पारेको छ । तर उक्त प्रतिवेदन व्यापारीकै दवाबका कारण सञ्चालक समितिबाट पारित हुन भने सकेको छैन । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस