गज्जब रमाइलो हुँदैछ दर खाने दिन कुरिनटारमा

सूर्यप्रकाश कँडेल

मंगलबार, ०५ भदौ २०७५, १७ : ४६
गज्जब रमाइलो हुँदैछ दर खाने दिन कुरिनटारमा

चितवन । यस वर्ष दर खाने दिन अर्थात् भदौ २६ गते मंगलबार चितवनको कुरिनटारमा गज्जब रमाइलो हुने भएको छ । यो रमाइलो दर खाने दिन सुरु भएर भदौमा पाँच दिन र असोजमा ६ दिनसम्म रहनेछ । यो रमाइलो सर्वशान्ति माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।

इच्छाकामना गाउँपालिकामा पर्ने कुरिनटारमा दर खाने दिनदेखि सुरु हुने रमाइलो भनेको पहिलो पटक आयोजना हुन लागेको इच्छाकामना महोत्सव हो । महोत्सवको आयोजना इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिन र इच्छाकामना एफएम कुरिनटारले संयुक्त रुपमा गर्दैछन् । उनीहरुले आज मंगलबार इच्छाकामनाको चुम्लिङटारमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिएका हुन् । महोत्सवको संरक्षकमा इच्छाकामना गाउँपालिका र प्रवद्र्धकमा उद्योग वाणिज्य संघ चितवन रहेका छन् ।

धादिङ, गोरखा, तनहुँ र चितवनका पत्रकार सम्मिलित कार्यक्रममा दिइएको जानकारी अनुसार महोत्सवमा साँस्कृतिक कार्यक्रम, तीज गीत प्रतियोगिता, इच्छाकामना डान्स आइडल लगायतका रमाइला कार्यक्रम प्रमुख आकर्षणको रुपमा रहेका छन् । यीबाहेक पर्यटन अन्तर्गत सिराइचुलीसम्मको पदयात्रा, कृषि उत्पादनको प्रदर्शन, हस्तकला, नेपाली सँस्कृति र परम्पराको प्रदर्शन हुने महोत्सव सहसंयोजक प्रताप गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा करिब एक सय ५० वटा स्टल रहने छन् । पर्यटन, कृषि, उद्योग र व्यापारको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको हो ।

इच्छाकामना महोत्सव आयोजना गर्दा ४४ लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा रहने स्टलको भाडा, महोत्सव प्रवेश टिकट, बाल उद्यान, विभिन्न प्रायोजक लगायतका क्षेत्रबाट कूल ५७ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान आयोजकको छ । खर्च कटाएर बचेको रकमको २० प्रतिशत रकमले इच्छाकामना छात्रवृत्ति कोष स्थापना गरिने अर्का सहसंयोजक कल्याण गुभाजुले बताउनु भयो ।

पत्रकार सम्मेलनकी प्रमुख अतिथि एवं इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले महोत्सवको नाममा कुनै विकृति हुन नदिइने बताउनु भयो । उहाँले गाउँपालिकामा पर्ने नारायणगढ मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको केही भागमा सडक किनारमै फोहोर फाल्ने काम नियन्त्रण गरिएको बताउनु भयो । महोत्सव संयोजक कृतिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा आरबी लामा, चन्द्रमणि सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस