भरतपुर महानगरले वितरण गर्‍यो एक सय जनालाई छात्रवृत्ति

मंगलबार, ०५ भदौ २०७५, १६ : २७
भरतपुर महानगरले वितरण गर्‍यो एक सय जनालाई छात्रवृत्ति

चितवन । भरतपुर महानगरपालिकाले सामुदायिक विद्यालयका प्राथमिक तहदेखि स्नातक तहसम्मका एक सयजनालाई छात्रवृत्ति वितरण गरेको छ । 
आज महानगरपालिकाको सभाहलमा २९ वडाका गरिब, दलित, अल्पसंख्यक, जनजाति, अपाङ्गता, दृष्टिविहीन तथा अन्य समुदायका गरी एक सयजना विद्यार्थीहरुलाई महानगर प्रमुख रेनु दाहालले छात्रवृत्ति प्रदान गर्नुभएको थियो । प्रत्येक विद्यार्थीलाई ५ हजारका दरले छात्रवृत्ति वितरण गरिएको थियो । 
गरिब विपन्न विद्यार्थी बालबालिकालाई अध्ययनको लागि थप प्रोत्साहन मिलोस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको महानगर प्रमुख दाहालले बताउनुभयो । ‘छात्रवृत्तिमा पाएको रकम भाईबहिनीहरुले नितान्त पढाइको लागि खर्च गरेर आफ्नो भविष्य सुनिश्चित पार्नुपर्छ, छात्रवृत्तिको सही सदुपयोग गरेर अगाडि बढ्नुहोला’ महानगर प्रमुख रेनु दाहालले भन्नुभयो । उहाँका अनुसार छात्रावृत्तिलाई कोशेढुंगा बनाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो । 
महानगर प्रमुख दाहालले छात्रावृत्तिको रकम आगामी वर्षमा बिस्तारै बढाउँदै लाने प्रतिबद्धता गर्नुभएको थियो । छात्रवृत्तिको लागि भरतपुर महानगरको पहिलो नगर सभाले ५ लाख रकम विनियोजन गरेको थियो । महानगरको दोस्रो नगर सभाले छात्रवृत्तिको लागि ८ लाख रकम विनियोजन गरेको उहाँले बताउनुभयो । ‘महानगरले शैक्षिक गुणस्तरलाई वृद्धि गर्न धेरै कार्यक्रम ल्याइरहेको छ’ प्रमुख रेनु दाहालले भन्नुभयो, ‘भरतपुर महानगरलाई शैक्षिक हब बनाउन महानगरपालिका अघि बढिरहेको छ ।’


प्रत्येक वडाबाट ३ जना विद्यार्थीहरुलाई छनौट गरी छात्रावृत्ति वितरण गरिएको भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीले जानकारी दिनुभयो । ‘३ जनाको दरले वडाको सिफारिसबाट ८७ जनाले छात्रावृत्ति पाए भने बाँकी १३ जनाले महानगरको सिफारिसबाट छात्रवृत्ति पाएका छन्’ उहाँले भन्नुभयो । 
छात्रवृत्ति पाउनेमा ७३ जना महिला र बाँकी पुरुष छन् । जसमा ३६ जना दलित, ३८ जना जनजाति ५ जना अल्पसंख्यक, १ जना अपाङ्गता, १ जना दृष्टिविहीन र अन्य १९ जनाले छात्रवृत्ति पाएका महानगर शैक्षिक प्रशासन शाखाले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस