चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । सौराहा क्षेत्रबाट ३२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले आजदेखि सौराहा क्षेत्रमा जीप सवारी खुला गरिएको र क्रमशः भत्किएका सडक मर्मत गरेर अन्य स्थानबाट पनि खुला गरिने जानकारी दिए ।
निकुञ्जभित्रको सडक मर्मतसँगै कसरा, मेघौली, अमलटारी, कुजौली र माडीबाट प्रवेश गर्ने जीपका लागि अनुमति दिइने उनले बताए । गत साल कसराबाट १६, मेघोलीबाट नौ, अमलटारीबाट पाँच, कुजौलीबाट दुई र माडीबाट एउटा जीपले अनुमति पाएका थिए । वर्षात्सँगै निकुञ्जभित्रको सडक भत्किने र खाल्डाखुल्डी हुने, खोल्सामा ‘कल्भटर्’ भत्किने भएकाले गत असार १६ गतेबाट जीप सफारी बन्द गरिएको थियो ।
सूचना अधिकारी तिवारीले चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा जीप सफारी हुने गरेको बताए । यसका अतिरिक्त मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी, निकुञ्जमा पैदलयात्रा, राप्ती नदीमा डुङ्गा सयरलगायतका पर्यटकीय गतिविधि यहाँ हुने गर्दछन् । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ पर्यटकको रोजाइमा पर्दछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो
चितवन निकुञ्ज वरपर चोरी सिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान