एसियाली खेलकुद : तेक्वान्दोमा नेपालकाे खराब प्रदर्शन

मंगलबार, ०५ भदौ २०७५, १३ : ४६
एसियाली खेलकुद : तेक्वान्दोमा नेपालकाे खराब प्रदर्शन

जाकर्ता (इन्डोनेसिया) - १८औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत तेक्वान्दोमा नेपालको खराब प्रदर्शन जारी छ। मंगलबार प्रतिस्पर्धा गरेका तीन जना खेलाडी नै आ-आफ्ना खेलमा पराजित भएका छन्।

महिला ६७ माथि केजी तौल समूहमा निशा रावल चीनकी गोआओ पानसँग पराजित भएका छिन्। उनी २२-६ अंकले पराजित भइन्।

यस्तै ८० केजी माथि तौल समूहमा अनोज पुजारी पनि अन्तिम १६ को खेलमा पराजित भएका छन्। उनलाई काजकिस्तानका जापारोभ रुस्लानले २१-० अंकले पराजित गरे।

ज्ञानी चुनारा पनि क्वार्टरफाइनलमै पराजित भइन्। उनी फिलिपिन्सकी लिपेज पाउला लुसीसँग २०-० ले हारिन्। त्यसअघि उनले भुटानकी छोडेन किन्जाङलाई २८-६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेकी थिइन्।

योसँगै पदकको आसा गरिएको खेल तेक्वान्दोमा ६ खेलाडीको चुनौती समाप्त भएको छ। अब बुधबार ८० केजी मुनी भूपेन्द्र श्रेष्ठ र ६३ केजी मुनीकाे तौल समूहमा वीरबहादुर महरा भिड्दैछन्। महरा सागका रजत विजेता खेलाडी हुन्। तेक्वान्दो अन्तिम दिन बिहीबार ४९ मुनी अस्मिता श्रेष्ठ र ६८ केजी मुनीकाे तौल समूहमा ज्ञानेन्द्र हमालले प्रतिस्पर्धा गर्दैछन्। 

पौडी 
पौडीमा शिरिष गुरुङ पनि हिट चरणबाटै बाहिरिए। उनी ५० मिटर फ्रिस्टाइलमा हिट २ मा भिडेका थिए। २६ दशालब ३३ सेकेन्डमा निर्धारित दूरी पार गरेका शिरिष आफ्नो हिटमा तेस्रो भएका थिए। तर समग्र बरीयतामा उनी ५२ खेलाडीमध्ये ४६औं स्थानमा रहे।

प्रतिक्रिया दिनुहोस