चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वास्थ्यसेवा आम नागरिकको पहुँचमा हुनुपर्ने बताउनुभएको छ । मंगलबार पटिहानी स्वास्थ्य केन्द्रमा सुविधा सम्पन्न ल्याबको उद्घाटन गर्दै प्रमुख दाहलले भरतपुर महानगर स्वास्थ्य, शिक्षा, शुद्ध खानेपानी प्रवाह गर्ने क्रममा सचेत रहेको बताउनुभयो ।
उहाँले महानगरपालिका भित्र रहेका स्वास्थ्य केन्द्रहरूलाई अत्याधुनिक र सुविधा सम्पन्न गर्दै लगिने बताउनुभयो । भरतपुरलाई सरकारले मेडिकल सिटीको रूपमा विकास गर्ने नीति लिएको बताउँदै प्रमुख दाहालले मेडिकल सिटीको पुर्वाधारहरू अनुरूप विकास गर्दै लगिने बताउनुभयो ।
स्वास्थ्य सेवालाई प्रभावकारी र सुविधा सम्पन्न बनाउन थुप्रै समस्याहरू भए पनि आवश्यकताका आधारमा विकास र विस्तार गरिदै लगिने बताउनु भयो । प्रमुख दाहालले महानगरपालिका भित्र रहेका कुनै पनि स्वास्थ्य केन्द्रहरू उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभावमा सेवा प्रवाहमा समस्या आउन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा पटिहानी स्वास्थ्य केन्द्रले यस क्षेत्रका जन समुदायहरुलाई प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका योजनबद्ध र दिगो विकासको पक्षमा अगाडि बढेको बताउँदै प्रमुख दाहालले यसलाई सफल बनाउन रचनात्मक सहयोग र सुझाव दिन नगरवासीलाई आग्रह गर्नुभयो ।
दाहालले पटिहानी, जगतपुर, मेघौली पर्यटनको केन्द्र बन्ने प्रक्रियामा रहेको बताउनु भयो । अम्रेला स्टेट, भ्यू टावर, जंगल सफारी, डुङ्गा सयर र यहाँ बनेका पर्यटन पूर्वाधार पर्यटन पूर्वाधार यसका आधारहरु रहेको बताउनु भयो ।
प्रमुख दाहालले करका विषयमा अनावश्यक टिकाटिप्पणीहरू बाहिर आइरहेकोमा चिन्ता व्यक्त गर्दै भरतपुर महानगरपालिकाले वैज्ञानिक र वस्तुपरक कर प्रणाली लागू गरेको बताउनुभयो । उहाँले सबै क्षेत्रबाट यसको स्वागत भइरहेको पनि बताउनुभयो । समृद्धिको आधार दिगो र वैज्ञानिक कर प्रणाली रहेको बताउँदै उहाँले सबै नगरवासीहरुलाई महानगरले तोकेका करहरू समयमै तिर्न आग्रहसमेत गर्नुभयो । महानगरपालिकाको विकास र महानगरवासीको समृद्धिमात्र आफनो लक्ष्य रहेको बताउँदै उहाँले यसका लागि सहकार्य र एकता गर्न महानगर तयार रहेको बताउनु भयो ।

भरतपुर महानगरपालिका स्वास्थ्य विभाग प्रमुख जीवन श्रेष्ठले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सुविधा पु¥याउने लक्ष्य रहेको भन्दै उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी सेवा प्रवाह गर्न महानगर तयार रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिती चितवनका सदस्य लक्ष्मी पुनले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिनुपर्ने बताउदै स्रोत साधन र दक्ष जनशक्तिको व्यवस्थापन अपरिहार्य रहेको बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा न १३ का अध्यक्ष प्रकास दवाडीले पटिहानी स्वास्थ्य चौकीमा आधुनिक ल्याब सेवा सुरूगरेकोमा खुसी ब्यक्त गर्दै प्रभाबकारी सेवा प्रबाहगर्न स्वास्थ्य कर्मीहरूलाइ आग्रह गर्नुभयो ।
२२ नं वडा अध्यक्ष विष्णुराज महतोको अघ्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य केन्द्रमा उत्कृष्ट काम गर्ने कर्मचारी तथा महिला स्वयम् सेविकाहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा अध्यक्ष महतोले वडामा भए गरेका कामकारबाही, सेवा प्रवाह र वडाका सम्भावना र आवश्यकताका बारेमा जानकारी गराउनु भएको थियो ।
पटिहानीमा संचालित स्वास्थ्य केन्द्रमा वडा न २२, २३, १३, र १४ का जनताले सेवा लिने गरेका छन् । दैनिक ७० र ८० जनाले सेवा लिने गरेको स्वास्थ्य केन्द्र प्रमुख माधव पौडेलले बताउनुभयो । पौडेलका अनुसार दैनिक बिरामी जॉच, परिवार नियोजन सेवा, गर्भवती जॉच, सामान्य सल्यक्रिया, क्षयरोग कुष्ठरोगको उपचारका साथै खोप र स्वास्थ्य सुचना कार्यक्रमहरू चलिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस