काठमाडौँ । नेकपा एकीकृत समाजवादीले देशमा आर्थिक सङ्कटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक-साँस्कृतिक द्वन्द्व पनि देखा परेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ ।
अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाउँदै मुलुकको मुख्य समस्या आर्थिक मन्दी रहेको र त्यसकै कारण समाजमा निराशा, कुण्ठा, अराजकता विस्तार भएको बताएका छन् ।
‘जनतामा ब्याप्त निराशा–हतासाको यस्तै अवस्थालाई प्रयोग गर्दै कतिपय अवाञ्छित तत्त्वहरू हाम्रो समाजमा जातीय, धार्मिक-साँस्कृतिक द्वन्द्व मच्चाउने समेत लागि परेका छन्’, उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।
देशमा देखिएका सङ्कटको समाधानका लागि सरकारले गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुने एकीकृत समाजवादीले ठहर गरेको छ ।
‘त्यसैले अहिलेको सङ्कटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय र मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौँ’, अध्यक्ष नेपालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
सरकारले भ्रष्टाचार र सुशासनका पक्षमा लिएका कदमको जनस्तरबाट समर्थन भए पनि आर्थिक क्षेत्रको समस्या समाधानमा भने सरकारको ध्यान नपुगेको एकीकृत समाजवादीले बताएको छ ।
उत्पादन र आयात घटेको, युवा र दक्ष जनशक्ति विदेश पलायन भएको, पुँजीगत खर्च घटेको, बैंकमा पर्याप्त रकम भए पनि ब्याजदर बढी भएर लगानी घटेको उसको दाबी छ । उद्योग व्यवसाय आम रूपमा घटेको, उद्योगी व्यवसायीमा निराशा देखिएको र रोजगारी गुम्दै गएको पनि ध्यानाकर्षण पत्र पत्रमा उल्लेख गरिएको छ ।
यही कारण श्रमजीवी, मजदुर तथा गरिबको जीवन कष्टकर हुँदै गएको भन्दै एकीकृत समाजवादीले उद्योगी व्यवसायीले बैंकको ब्याज र किस्ता तिर्न नसकेर निराशा थपिएको पनि दाबी गरेको छ ।
‘यी समस्या आजै सिर्जना भएका होइनन्, तापनि यसको सम्बोधन गर्नु र आम जनतालाई आश्वस्त पार्नु सरकारको दायित्व हो’, पत्रमा भनिएको छ ।
हेर्नुहोस् ध्यानाकर्षण पत्र :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असोज २०८०, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
प्रधानमन्त्रीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने
देउवा तर्साउन ओलीको खतरनाक खेल
प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिको ध्यानाकर्षण
सिंगापुरको प्रधानमन्त्रीमा पुनः लरेन्स वङ विजयी