अरनिको यातायातले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०८०, १६ : ३८
अरनिको यातायातले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश

काठमाडौं। पूर्व अरनिको यातायात प्रा.लि.ले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।महानगरलाई विपक्षी बनाएर पूर्व अरनिको यातायात  प्रा.लि.ले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश गोकर्ण डाँगीको इजलासले शुक्रवार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एउटा महानगरमा २ वटा बसपार्क नचाहिने भन्दै भत्काउने चेतावनी दिएका थिए ।अब तत्कालका लागि बसपार्क भत्काउन वा त्यहाँ रहेका संरचनामा कुनै क्षति पुर्‍याउन नमिल्ने भएको छ ।

'निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरूलाई तोडफोड गर्ने तथा भत्काउने कार्यान्वयन नगर्नू, नगराउनू,' आदेशमा भनिएको छ ।

साथै निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने कुनै कारण भए बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि महानगरलाई आदेश दिइएको छ ।अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न असोज  २० गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस