भरतपुरमा असल करदातालाई स्टिकर

रासस

शुक्रबार, १२ असोज २०८०, १२ : ५०
भरतपुरमा असल करदातालाई स्टिकर

चितवन । भरतपुर महानगरपालिकाले समयमा नै कर तिर्ने करदाताकामा स्टिकर टाँस्न सुरु गरेको छ । महानगरले बहाल कर, सम्पत्ति कर र व्यवसाय करका तीन फरक–फरक रङका स्टिकर टाँस्न सुरु गरेको हो ।

महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान थालेसँगै स्टिकर वितरण सुरु गरिएको हो । महानगरपालिकाका राजस्व महाशाखाका प्रमुख जगन्नाथ अर्यालका अनुसार गत भदौ २५ गते सूचना जारी गरी १५ दिनभित्र सबैलाई करको दायरामा आउन सार्वजनिक अपिल गरिएको थियो । करको दायरा आएकाहरूलाई स्टिकर वितरण गरिएको हो ।

महानगरपालिकाले विभिन्न पाँच शीर्षकमा फरक–फरक स्टिकर तयार गरेको छ । व्यवसाय कर, घरबहाल कर, सम्पत्ति कर, मनोरञ्जन कर र सेवा शुल्क दस्तुर गरी पाँच रङका स्टिकर तयार भएको जनाउँदै उनले तीन स्टिकर टाँस्न सुरु गरिएको बताए । क्रमशः अन्य स्टिकरसमेत टाँस्दै जाने उनले बताए।

उनले भने, “करदाताले जुन कर तिर्नुहुन्छ, उहाँहरूको फार्ममा सोही स्टिकर टाँस्न सुरु गरेका छौँ ।” स्टिकरका आधारमा अनुगमन तीव्र बनाइने उनले बताए । वडा र टोल विकास समितिहरूलाई पत्राचार गरी करको दायरामा आउन सबैलाई आह्वान गर्न लगाइएको छ ।

महानगरपालिकाले कर सङ्कलनका लागि ‘टास्कफोर्स’समेत बनाउँदै छ । यसले कर सङ्कलनमा सहयोग गर्नेछ । सोही समितिमार्फत अनुगमनसमेत गरिने छ । महानगरमा उठ्नुपर्ने करको २० प्रतिशतमात्रै उठेको भन्दै उनले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी कर उठाइने बताए । चालु आवमा महानगरले रु एक अर्ब ७५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । उनले चालु आवमा रु दुई अर्बभन्दा बढी राजस्व उठाउने योजना बनाइएको बताए ।

गत आवमा एक अर्ब २५ करोड हाराहारीमात्रै राजस्व सङ्कलन भएको थियो । अहिलेको अवस्था राम्रो नभएकाले करको दर नबढाइने जनाउँदै उनले दायरा बढाएर कर सङ्कलन गर्न लागिएको बताए । महानगरले नेपाल टेलिकम, खानेपानी संस्थान, विद्युत् प्राधिकरणलगायतका कार्यालयसँग समन्वय गरेर कर सङ्कलन अभियानलाई अघि बढाएको छ । महानगरमा कर नतिरेसम्म अन्य सुविधाबाट समेत बञ्चित हुने गरी योजना अघि सारिएको हो ।

चालु आवमा हालसम्म १७ करोड कर सङ्कलन भएको छ । महानगरप्रमुख रेनु दाहालले चालु आवमा राजस्व सङ्कलनलाई अभियानकै रूपमा अघि बढाइएको जानकारी दिए । उनका अनुसार असल करदाताकामा स्टिकर टाँस्न सुरु गरिएको छ । विगतका वर्षमा लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको भन्दै उनले चालु आवमा लक्ष्यभन्दा बढी राजस्व उठाउने बताए । महानगरभित्रका सबै टोल सुधार संस्थालाई यस अभियानमा सहभागी गराइएको उनको भनाइ छ ।

महानगरमा सङ्कलित करको दुई प्रतिशत सम्बन्धित टोल विकास संस्थालाई दिने गरी नीतिगत निर्णय भइसकेको छ । महानगरभित्र सात सय ४४ टोल विकास संस्था छन् । महानगरले आन्तरिक स्रोतलाई बलियो बनाउन कर सङ्कलनलाई अभियानका रूपमा अघि बढाएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस