भारतीय क्रिकेटर युवराजको कीर्तिमान तोडेका दीपेन्द्रलाई १ लाख पुरस्कार घोषणा

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०८०, ०९ : ४६
भारतीय क्रिकेटर युवराजको कीर्तिमान तोडेका दीपेन्द्रलाई  १ लाख पुरस्कार घोषणा

काठमाडौ । भारतीय क्रिकेटर युवराज सिंहको कीर्तिमान तोडेका नेपालका ब्याटर दीपेन्द्रसिंह ऐरीलाई उनी आबद्ध लुम्बिनी अल स्टार्स क्लबले १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । लुम्बिनीले हालै एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हो ।

चीनमा जारी एसियाली खेलकुदको क्रिकेटतर्फ बुधवार बिहान भएको खेलमा दीपेन्द्रले भारतका अलराउण्डर युवराजको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान रच्न सफल भएका थिए ।

दीपेन्द्रले ९ बलमै अर्धशतक हानेका थिए । यसअघि १२ बलमा शतक हानेको कीर्तिमान युवराजको नाममा थियो । सो खेलमा दीपेन्द्रले अविजित रहँदै १० बलमा ५२ रन बनाएका थिए । यससँगै दीपेन्द्रले टी–ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमानमा आफ्नो नाम लेखाएका छन् । 

दीपेन्द्र लुम्बिनी अल स्टार्सका कप्तानसमेत हुन् । उनैको कप्तानीमा लुम्बिनीले पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको उपाधि जितेको थियो ।

यस्तै, लुम्बिनीले मंगोलियाविरुद्ध प्लेइङ ११ मा उत्रने सबै खेलाडीलाई जनही १० हजार रुपैयाँ दिने बताएको छ । खेलाडीको प्रर्दशनको सम्मान गर्दै पुरस्कार रकमको घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालले मंगोलियाविरुद्ध कीर्तिमानै–कीर्तिमान बनाएको थियो । जसमा बनाएका ४ वटा कीर्तिमान भने महत्वपूर्ण रहे ।

मंगोलियाविरुद्ध नेपालले सबैभन्दा ठूलो स्कोर (३१४ रन), सबैभन्दा ठूलो रन अन्तरको जीत (२७३ रनको), कम बलमा शतक, (कुशल मल्ल, ३४ बल) र कम बलमा अर्धशतक (दीपेन्द्र ९ बल)जस्ता ४ वटा कीर्तिमान बनाएको थियो । 

प्रतिक्रिया दिनुहोस