चितवन । चितवनमा पछिल्लो समय बलात्कारको घटना दिनप्रतिदिन बढ्दै गइरहेको छ । असार र साउनमा मात्र चितवनमा १२ वटा बलात्कारका घटना घटेको चितवन प्रहरीले जनाएको छ । २०७४ सालको पुसदेखि हालसम्म चितवनमा बलात्कारका २८ वटा घटना घटेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक चितवनले विवरणमा गएको पुषदेखि जेठसम्म करिब छ महिनाको अवधिमा चितवनमा १६ वटा बलात्कारका घटना भएको तथ्यांक सार्वजनिक गरेको थियो । जसमध्ये १३ वटा बलात्कारका घटना थिए । ती घटनामा सबैभन्दा बढी १८ वर्षमुनिका बालिकाहरु पीडित भएका थिए । तीन जना १८ वर्ष माथीका महिलाहरु रहेका थिए । त्यस्तै, ६ महिनाको अवधिमा दुई बालकामाथि यौन दुव्र्यवहार भएको तथा पाँच जना महिलामाथि बलात्कार प्रयास भएको थियो ।
बालिग युवतीसँग सहमतिमा शारीरिक सम्बन्ध हुने र पछि पारिवारिक कारणले बलात्कारका घटनाको रुप दिने तथा साना बालिकाहरुको यौनाङ्ग चलाउँदै यौन दुव्र्यवहार हुने घटना समेत चितवनमा बढ्दै गएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बालिकाहरु अन्य व्यक्तिमाथि चाँडै विश्वास गरी सानो लोभममा उनीहरुसँगै जाँदा बलात्कारका घटना बढेको हो । आचार्य भन्नुभयो, ‘अशिक्षा, गरिबीका कारणले पनि बलात्कारका घटना बढेको छ । बुबाआमाले बालिकाहरुलाई घरमा एक्लै छोड्ने गर्दा पनि बलात्कारका घटना बढेको हो ।’ उहाँका अनुसार बलात्कारका श्रृंखला बढ्नुका धेरै कारणहरु छन् ।
संरक्षण केन्द्र सञ्चालन गरेका व्यक्तिहरुले नै महिलामाथि दुव्र्यवहार गरेको पाइन्छ । समाजमा दिन प्रतिदिन अपाङ्ग तथा बौद्धिक अपाङ्ग व्यक्तिहरुमाथि बलात्कारको घटना बढ्दै गएको आचार्यले बताए ।
चितवनमा बलात्कारका अचम्म घटनाहरु
चितवनमा बलात्कार र यौन दुव्र्यवहारका यस्ता घटनाहरु सार्वजनिक भएका छन् यो सुनेर पत्याउनै गाह्रो हुन्छ । यस्तै एउटा प्रतिनिधि मुलक घटना भरतपुर महानगरपालिका वडा नं.३ बाह्रघरेमा रहेको श्री गणेश अपाङग धार्मिक सेवा केन्द्रमा भयो । त्यहाँ आश्रित दुई अपांग महिलामाथि जवरजस्तीकरणी भएपछि अपाङग धार्मिक सेवा केन्द्रको पर्दाफास भयो । केन्द्रका सञ्चालक नै पक्राउ परे । केन्द्रका संचालक बाग्लुङ नगरपालिका १३ घर भई हाल भरतपुर ३ बस्ने वर्ष ३९ का गणेश शर्मा परेका छन् । घटना गत वैशाख १ गते नै भएपनि डरत्रासका कारण उनीहरुले वैशाख ७ गते ढिला गरी प्रहरीमा जाहेरी दिएका थिए । केन्द्रमा आश्रित ३५ र १९ वर्षीया दुई जना पीडितले घटनाबारे ढिला मात्र छिमेकीलाई भनेपछि घटना सार्वजनिक भएको थियो ।

यस्तै अर्को बलात्कारको अचम्मको घटना सार्वजनिक भयो । जहाँ श्रीमतीले श्रीमानविरुद्ध नै उजरी दिए । २७ वर्षीया श्रीमती जुनेली (नाम परिवर्तन) ले भरतपुर ८ गौरीगञ्ज बस्ने वर्ष ३६ का श्रीमान हर्क (नाम परिवर्तन)विरुद जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिईन् । श्रीमान्विरुद्ध जवरजस्तीकरणी अन्तरर्गत मुद्दा चलाइएको थियो । यस प्रकारका बलात्कार घटनाहरु सायदै सुन्ने गरिन्छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यले सबै भन्दा बढि बलात्कारको शिकार बालिकाहरु पर्ने गरेको बताए । उनले भने– जिल्लामा आउने अधिकांश बलात्कार घटना बालिका सम्बन्धित हुन्छन्, केही मुद्धा मात्र उमेर पुगेका महिलाहरुको आउने गरेको छ ।’
डिएसपी आचार्यले उमेर पुगेका महिलाहरुको सहमतीमै यौन क्रियाकला हुने तर पछि विविध कारणले बलात्कार भएको भन्दै उजुरीहरु आउने गरेको जानकारी दिए । उनले यस्ता प्रकारका घटनाहरुमा प्रहरीले सघाउने गरेको भन्दै जबरजस्ती मिला पत्र गर्ने काम नहने बताए ।
उस्तै छ, महिला बेचबिखन र बहुविवाह पनि
देशको मध्य भागमा रहेको चितवनमा सबै प्रकारका मानिसहरु यहाँ बसोबास गर्दछन् । पूर्वदेखि पश्चिम नेपाललाई राजधानीसंग सिधै जोड्ने चितवनमा धेरै कानुन विपरीतका घटनाहरु हुने गरेका छन् । पछिल्लो ६ महिनामा महिला बेचबिखन, बालिका बेचबिखन र बहुविवाहका घटना समेत चितवनमा भएका छन् । यसअघि नै इन्सेकले सार्वजनिक गरेको तथ्यांक अनुसार एउटा बालिका बेचबिखन र ३ वटा महिला बेचबिखनको घटनाहरु भएका छन् । यस्तै ५ वटा बहुविवाहका घटना सार्वजनिक भएको इन्सेकले जनाएको छ । चितवनमा १३१ वटा घरेलु हिंसाका घटनाहरु समेत भएका छन् ।
प्रतिक्रिया दिनुहोस