कोशी टप्पु वन्यजन्तु आरक्षलाई पर्यटकीय रुपमा विकास गरिने वनमन्त्री महतोको प्रतिबद्धता

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १६ : ५७
कोशी टप्पु वन्यजन्तु आरक्षलाई पर्यटकीय रुपमा विकास गरिने वनमन्त्री महतोको प्रतिबद्धता

इनरुवा । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोशी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै खोरमा यहाँ ल्याइएको र कञ्चनपुरस्थित पथरी सेक्टर कार्यालय नजिकै छोडिएको हो । विश्व पर्यटन दिवस, २०२३ का अवसरमा सङ्घीय सरकारका वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोको उपस्थितीमा ती गैँडालाई छाडिएको आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवले जानकारी दिए ।

गैँडालाई चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली यहाँ आएको थियो । कोशी टप्पुमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो । पहिलो चरणमा गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने आरक्षका संरक्षण अधिकृत यादवले बताए ।

केही वर्षअघि कोशी टप्पुबाट चितवन निकुञ्जमा १३ वटा अर्ना लगिएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो ।

सो अवसरमा वनमन्त्री महतोले कोशी टप्पुलाई पर्यटकीय गन्तव्य बनाइने प्रतिबद्धता जनाए । मन्त्री महतोले कोशी टप्पु वन्यजन्तु आरक्षलाई पर्यटकीय रुपमा विकास गरिने बताएका हुन् । कोशी टप्पु वन्यजन्तु आरक्षस्थित सप्तरीको पथरी सेक्टरमा निर्माण गरिएको वन्यजन्तु उद्धार केन्द्रको आज उदघाटन तथा गैँडा हस्तान्तण कार्यक्रमका अवसरमा मन्त्री महतोले त्यसका लागि चितवनबाट गैँडा ल्याइएको बताए ।

उनले केही दिनभित्रै बिरु नामक गैँडा ल्याउने पनि जानकारी दिए । उक्त क्षेत्रमा बाघ ल्याउनका लागि अध्ययन पनि सुरु भएको उनको भनाइ छ । कोशी टप्पुमा अर्ना, गैँडा, बाघ, हात्तीलगायतका जनावर एकै ठाउमा भएको खण्डमा आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस