ईको जीवन रक्षाको पहल गर : मानव अधिकार आयोग

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १४ : ३४
ईको जीवन रक्षाको पहल गर : मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आफ्नो स्वास्थ्य र जीवनै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई’लाई आग्रह पनि गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन् ‘धर्नामा रहेका व्यक्ति ‘ई’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराउँदछ । साथै, आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि आग्रह गर्दछ ।’

‘ई’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानवअधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको जनाउँदै आयोगले, उनले उठाएका मागमा संवेदनशील बन्न सरकार र काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।