दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन नरोक्ने चिकित्सकहरूको चेतावनी

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १३ : १३
दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन नरोक्ने चिकित्सकहरूको चेतावनी

काठमाडौँ । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरूले बुधवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि शृङ्खलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरू सडकमा उत्रिएर विरोध जनाएका हुन् । स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन् । 

विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गरे । उनले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मूकदर्शक बन्न नहुने बताए ।

उनले भने, ‘सहमति धेरै भइसक्यो, एक्सन हामीलाई चाहिँदैन । यो धेरै भइसक्यो । पक्राउ गर्नुस् हामी मान्छौँ । नत्र सकेनौँ भन्नुस्, हात उठाउनुस् । जबसम्म पक्राउ गरेर मुद्दा चल्दैन, हामी आन्दोलनमा नै हुन्छौँ । यो राज्यको कमजोरी हो, कानुनी राज्य भएको भए घटना भए लगत्तै पक्राउ जरी जेलमा जान्थे । यहाँ त घटना दोहोरिँदा पनि कारबाही छैन । दोषीलाई संरक्षण गर्नु हुँदैन । राज्य टुलुटुलु हेरेर बसेको छ ।’

आन्दोलित चिकित्सकहरूले विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ, आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ?असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ?कामेको हातले उपचार सम्भव छैन, सेतो कोट रातो भए समाज नै कालो हुन्छ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस