सार्वजनिक बिदाका दिन शिक्षा राज्यमन्त्रीका छोराले लगेको सरकारी गाडी दुर्घटना

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, १२ : ४१
सार्वजनिक बिदाका दिन शिक्षा राज्यमन्त्रीका छोराले लगेको सरकारी गाडी दुर्घटना

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीका छोराले लगेको सरकारी गाडी दुर्घटनाग्रस्त भएको खुलेको छ । गत शनिवार बेलुकातिर दक्षिणकालीबाट बल्खुतर्फ आउने क्रममा टौदह क्षेत्रमा राज्यमन्त्रीको सचिवालयका लागि भनेर लिइएको सरकारी गाडी दुर्घटनामा परेको हो ।

 

विश्वस्त स्रोतका अनुसार राज्यमन्त्री प्रमिलाका छोरा राहुलले लगेको सरकारी गाडी दुर्घटनाग्रस्त हुँदा केही स्थानीय घाइते भएका थिए ।स्थानीयले राज्यमन्त्री प्रमिलाका छोरा राहुल र गाडी चालक समेतले मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटना भएको बताएका छन् ।

 

बीएबी ७३८५ नम्बरको सरकारी गाडी भयानक दुर्घटना भएको तस्वीरबाट नै बुझिन्छ । दुर्घटनाग्रस्त उक्त सरकारी गाडीको अगाडिको चक्का नै फुत्किएको छ । नम्बर प्लेट पनि झरेको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका उपसचिव तेजप्रकाश प्रसाईंका अनुसार दुर्घटनाग्रस्त गाडी 'इभेन्ट' भन्ने परियोजनाको हो ।शिक्षा मन्त्रालयअन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनालाई अंग्रेजीमा 'इभेन्ट' भनिएको हो ।

'दुर्घटना भएको उक्त गाडी मन्त्रालयको होइन । इभेन्ट प्रोजेक्टको गाडी हो । तर, राज्यमन्त्रीज्यूको सचिवालयका लागि ल्याइएको हो,' प्रसाईंले लोकान्तरसँग भने, 'विजय नाम गरेका एकजना चालकको राज्यमन्त्रीज्यूको सचिवालयमा नियुक्ति भएको छ । उनैले प्रयोग गर्नका लागि उक्त गाडी ल्याइएको हो ।'

दुर्घटनाबारे आफूले पनि सुनेको तर, के कति कारणले कहाँ दुर्घटना भयो भन्ने बारेमा केही जानकारी नरहेको उनले बताए ।प्रसाईंले त्यसो भने पनि उक्त गाडी गत जेठमा नै मन्त्रालयलाई बुझाइसकिएको इभेन्ट परियोजनाका सूचना अधिकारी शिवराज पोखरेल बताउँछन् ।

'गत असारमा नै हाम्रो परियोजनाको म्याद सकिएको हुनाले जेठमा नै हामीले त्यो गाडी शिक्षा मन्त्रालयलाई बुझाएका थियौं,' पोखरेलले लोकान्तरसँग भने, 'हामीले गाडी बुझाएको भरपाई पनि छ । उक्त गाडी दुर्घटना भएको हामीले पनि सुन्यौं तर हामीले यसअघि नै मन्त्रालयलाई हस्तान्तरण गरिसकिएको हुनाले त्यस विषयमा चासो राखेनौं ।'

परियोजना बन्द भए पनि अडिट गर्ने काम बाँकी रहेकाले मात्र अफिस सञ्चालन गरिरहेको उनले बताए । राज्यमन्त्री प्रमिलाका छोरा राहुल उनको सचिवालयमा छैनन् । तर, शनिवार सार्वजनिक बिदाका दिन उनका छोराले सरकारी गाडी के कति प्रयोजनका लागि लिएर गएका थिए भन्ने खुलेको छैन ।

यस विषयमा राज्यमन्त्री प्रमिला कुमारीसँग प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । पटक-पटक फोन गर्दा फोन नउठेपछि मन्त्रालयमै गएर त्यसविषयमा बुझ्न खोज्दा पनि उनले भेट्न मनिनन् ।

प्रतिक्रिया दिनुहोस