दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृह उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलले आज उद्घाटन गरेका हुन् ।सोही अवसरमा राष्ट्रपति पौडेलले सभागृह नजिक निर्माण गरिएको बिपी पार्क पनि उद्घाटन गरे । राष्ट्रपति पौडेलले पार्कमा रहेको बिपी कोइरालाको सालिक अनावरण गरे ।
सहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीमार्फत जिल्ला सभागृह निर्माण भएको हो । रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा सभागृह निर्माण सम्पन्न भएको हो ।
विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी सम्पन्न भएको हो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे, एमए र प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सभागृहको क्षमता पाँच सय ९३ रहेको छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।
भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल र सभाहल बाहिर फाउन्टेनसहितको भिआइपी पार्किङस्थलको व्यवस्था छ । सभागृह उद्घाटन गर्नुअघि राष्ट्रपति पौडेलले आजै भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन् । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित भयरथानमा सातसय मिर्लुङवासीले आस्था र शक्ति केन्द्रका रुपमा पुज्दै आएका छन् ।
स्थानीय देवी गुरुङले राष्ट्रपतिको मिर्लुङ भ्रमणले आफूलाई खुसी लागेको बताए । स्थानीय सुनमाया गुरुङले राष्ट्रपतिको आगमनले यस ठाउँको महत्व अझ बढेको बताए ।
भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले राष्ट्रपति पौडेल भयरथानको बारेमा जानकार रहेको बताउँदै यस क्षेत्रको विकासका लागि उनी सदैव लागिरहेको बताए । उनले भने, “उहाँको जन्मठाउँ बाहुनपोखरासँगै जोडिएको यस ठाउँमा उहाँ विगतमा पनि आइरहनुभएको हो, यस ठाउँको विकासका लागि केही गर्छु भन्नुभएको थियो । आज राष्ट्रपतिका रुपमा उहाँको भ्रमणले हामीलाई उत्साह थपेको छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति
चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय : राष्ट्रपति पौडेल
रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने
पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त