बिहे गर्न अब उमेर पुगेको प्रमाण खोजिने

पत्रपत्रिकाबाट

सोमबार, ०४ भदौ २०७५, ०८ : ०६
बिहे गर्न अब उमेर पुगेको प्रमाण खोजिने

काठमाडौँ  ।  गुह्येश्वरी मन्दिरमा विवाह गर्न चाहने जोडीले अब त्यहाँका पूजारीलाई विवाह गर्न योग्य उमेर पुगेको कागजात प्रस्तुत गरेर मात्र विवाह गर्न पाउने भएका छन् । देवस्थलमा हुने विवाहमा सम्वद्ध देवस्थलको समितिमा उमेर पुगेको कागजात प्रस्तुत नगरी विवाहको कार्यक्रम नगराउन गुठी संस्थानले निर्देशन दिएपछि गुह्येश्वरी मन्दिरले यो नियमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको हो ।

यस्तो कागजात गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिमार्फत् प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको समितिले जनाएको छ । यही भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता २०७४ ले विवाह गर्नेको उमेर २० वर्ष भएको हुनुपर्छ भनी तोके अनुसार कानुनले तोकेभन्दा कम उमेर वा गलत प्रकारले विवाह हुन नपाओस् भन्ने उद्देश्यका साथ गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिले नयाँ व्यवस्था गरेको समितिका अध्यक्ष सुमित खड्गीले जानकारी दिए ।

प्रायः देवस्थलमा आसपास भेटिने कर्मकाण्डी सेवा गरिरहेका व्राह्मण लगाएर हाट्टहुट्ट विवाह सम्पन्न गर्ने विगतको अभ्यासलाई व्यवस्थापन समितिले नयाँ कानुन आएसँगै सुधार गरेको हो । अब कर्मकाण्डी व्राहमणले पनि विवाहको वैदिक विधि पु¥याउने सेवा दिँदा केटा केटी दुवैको उमेर पुगेको प्रमाण हरेर मात्र देवस्थलमा विवाह गराउनुपर्ने छ । त्यसका लागि गुह्येश्वरीमा हुने विवाहमा गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिमा प्रस्तुत गरिएको उमेर पुगेको निस्सा पक्का गरेर मात्र सेवा दिनुपर्ने छ ।

गुठी संस्थानका धार्मिक व्यवस्थापन शाखा प्रमुख एवं उपप्रशासक जयप्रसाद रेग्मीका अनुसार गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिले तत्कालै निर्देशन कार्यान्वयनमा ल्याएको हो । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस