निगमले भन्यो– १४.२ केजी भन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनी

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, १९ : १५
निगमले भन्यो– १४.२ केजी भन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनी

काठमाडौँ । नेपाल आयल निगमले १४.२ केजी भन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनी भएको स्पष्ट गरेको छ । ५० केजी र  ४५० केजी क्षमताका सिलिन्डरहरूमा समेत एलपी ग्यास भरी विक्री वितरण भएको विषयमा  गम्भीर ध्यानाकर्षण गराउँदै निगमले त्यस्ता सिलिन्डरहरूको प्रयोग नगर्न आम उपभोक्तालाई समेत अनुरोध गरेको छ । 

निगमले केही ग्यास उद्योगहरूले बढी क्षमताका सिलिन्डरमा ग्यास भरी विक्री वितरण गर्न अनुमति माग गरे पनि नदिएको स्पष्ट गरेको छ । ‘निगमले एलपी ग्यास विनियमावली, २०६५ (संशोधन सहित) अनुसार अनुमति दिन नसकिने जानकारी गराइसकेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ १४.२ केजी भन्दा बढी जस्तै ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरूमा ग्यास भरी बिक्री वितरण गरिरहेको भए त्यस्ता सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न यसै सूचना मार्फत जानकारी गराइएको छ ।’

 निर्धारित तौल भन्दा बढी क्षमताका सिलिन्डरमा ग्यास भरी विक्री वितरण गरेको पाइएमा कारबाही हुने निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस