भरतपुर खानेपानी व्यवस्थापन बोर्डको दस करोड बढी आम्दानी

सुमन गैरे

आइतबार, ०३ भदौ २०७५, १६ : ३८
भरतपुर खानेपानी व्यवस्थापन  बोर्डको दस करोड बढी आम्दानी

चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले आर्थिक वर्ष ०७४/७५मा १० करोड १७ लाख ९८ हजार २८ रुपैयाँ पानी महसुलबाट आम्दानी गरेको जनाएको छ । सो आर्थिक वर्षसम्म एक करोड ३५ लाख एक हजार २ सय रुपैयाँ बक्यौता उठान बाँकी देखिएको छ ।
बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालका अनुसार उक्त बक्यौता एकै वर्षको नभएर विगत वर्षदेखि ग्राहकले नतिरेपछि जोडिँदै आएको हो । पानी महसुलको १० हजारदेखि १ लाखसम्म बक्यौता नतिर्ने ग्राहकको संख्या २ सय १० र ५० हजोरदेखि १ लाख रुपैयाँसम्म बक्यौता भएका ६ जना ग्राहक रहेको कार्यकारी निर्देशक दाहालले बताए ।
केही ठूला व्यवसायी र सरकारी कार्यालयले नियमित महसुल बुझाएका छैनन् । सरकारी कार्यालयको मात्रै ११ लाख बक्यौता रहेको उनले जानकारी दिए । बक्यौता तिर्न बाँकी रहेका सरकारी कार्यालयहरुमा जिल्ला मालपोत कार्यालय, जनस्वास्थ्य, जिल्ला वन, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला अदालत, सिंचाइ कार्यालय, आँखा अस्पताल, नेपाल ट्रष्ट, चितवन मावि, भरतपुर महानगरपालिका वडा नम्बर ८ को कार्यालय, मातृशिशु कार्यालय लगायतका रहेको सो कार्यालयले जनाएको छ ।

बक्यौता समयमै नतिर्ने ग्राहकलाई पत्र काटेर ताकेता गरेको बताउँदै खोपानी व्यवस्थापन बोर्डका प्रमुख एवम् कार्यकारी निर्देशक प्रजापति दाहालले भने ‘ताकेता गर्दा पनि तिरेनन् भने क्रमशः लाइन काट्दै जाने योजना छ ।’
सो कार्यालयले आर्थिक वर्ष ०७४÷०७५ मा १० करोड १७ लाख ९८ हजार आम्दानी गर्दा ११ करोड ७७ लाख ४० हजार ४ सय खर्च गरेको लेखा प्रमुख कृष्ण भट्टले सफल खबरलाई जानकारी दिए । जसमध्ये पूँजीगत ६ करोड ९१ लाख १० हजार र चालु खर्च ४ करोड ८६ लाख ३० हजार रहेको उनले बताए । खर्चमध्ये ६५ लाख २२ हजार ५ सय रपैयाँ अनुदानबाट प्राप्त भएको भट्टको भनाइ छ ।

बोर्डले आर्थिक वर्ष ०७४/०७५ मा ६ सय १२ किलोमिटर पाइप लाइन बिस्तार गरेको र जुगेडीमाई खानेपानी योजनाबाट हस्तान्तरण गरेको साढे ३ किलोमिटर खानेपानी योजना समेटेको जनाएको छ । हालसम्म भरतपुर महानगरको ६ सय १२ किलोमिटरसम्म खानेपानी पाइप बिस्तार गर्दा २५ हजार ८ सय ग्राहक पुगेको जनाइएको छ । महानगरका १ करोड ४४ लाख १ सय ४७ अर्थात ४१ प्रतिशत जनसंख्या शुद्ध पिउने पानीबाट लाभान्वित भएको कार्यालय प्रमुख कार्यकारी निर्देशक दाहालले बताए । बोर्डले २८ वटा डिप बोरिङ सञ्चालन गरी दैनिक २ करोड लिटर पानी उत्पादन गरी वितरण गर्ने गरेको उनले जानकारी दिए ।

भरतपुर–१२ को धनगढा वडा नं. ५ को कैलाशनगर र वडा नं. ११ को जुगेडी माईमा निर्माणाधिन अवस्थामा रहेको बोरिङलाई चालु आर्थिक वर्षमा सञ्चालन गरी सो क्षेत्रमा पिउने पानी पु¥याउने लक्ष्य लिइएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस