संविधानलाई एमाले, राजवादी र भारतीय साम्राज्यवादीबाट खतरा छ : चित्रबहादुर केसी

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०८०, १४ : १२
संविधानलाई एमाले, राजवादी र भारतीय साम्राज्यवादीबाट खतरा छ : चित्रबहादुर  केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानसभाबाट संविधानको निर्माणपछि नेपाली जनताको सात दशक लामो चाहना पूरा भएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानमा व्यवस्था भएका २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरूलाई रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

केसीले भनेका छन्, ‘संविधानमा जनताका चाहनाविपरीत तथा ०६२/०६३ को जनआन्दोलनको माग नै नभएको संघीयतालगायतका गलत प्रावधानको हाम्रो पार्टीले जोडदार विरोध गर्नुका साथै यसको खारेजीका लागि संघर्ष गर्दै आएको छ । संघीयता लगायतका संविधानका गलत प्रावधानका विरुद्ध हाम्रो गम्भीर असहमति भए पनि वर्तमान संविधानमाथि राजावादी शक्ति, भारतीय साम्राज्यवाद तथा स्वयं गणतन्त्रवादी शक्तिहरूको कुशासनको परिणाम त्रिकोणात्मक आक्रमण भइरहेको छ ।’

विगतमा एमालेले भारतीय साम्राज्यवादको मिलेमतोमा संविधानविपरीत दुई-दुईपटक संसद विघटन गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘संविधानको मूलआत्मामाथि प्रहार गरेको एमाले अहिले पनि त्यो नीतिबाट पछाडि हटेको छैन । गणतन्त्रवादी शक्तिहरूको कुशासनका कारण जनतामा देखा परेको असन्तोषलाई प्रतिक्रियावादी शक्तिहरुले प्रतिगामी दिशा दिनका लागि पूरा प्रयत्न गरिरहेको परिप्रेक्ष्यमा संविधानको रक्षाको प्रश्न नेपाली राजनीतिको महत्वपूर्ण कार्यभार बन्न जान्छ । त्यही आवश्यकतालाई बोध गरेर नै हाम्रो पार्टीले प्रतिगमन विरुद्धको गठबन्धनमा जोड दिने नीति अपनाउँदै आएको छ ।’

प्रतिक्रिया दिनुहोस