गठबन्धन हुँदा जे समझदारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ : नेता सिंह

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०८०, ११ : २७
गठबन्धन हुँदा जे समझदारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ : नेता सिंह

काठमाडौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताएका छन।

मंगलवार काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंहको २६औँ स्मृति दिवसको अवसरमा उनको शालिकमा माल्यापर्ण गर्दै उनले यस्तो बताएका हुन । उनले सरकार गठन हुँदा भएको दलहरुबीचको समझदारीलाई नै सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने बताए। उनले समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको बताए । उनले पार्टी भित्र काँग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आएपनि व्यक्तिगत कुरामा भन्दा केन्द्रिय समितिले गरेको निर्णय आधिकारिक हुने बताए ।

उनले भने, ‘यो डेमोक्रेसीको विशेषता नै के हो भने खुला रुपमा हुन्छ सबै कुरा । यो सरकार गठन भएर फेरि विघटन भएर फेरि गठन हुँदा जुन दलहरुबीचको समझदारी हो त्यसलाई सबै दलले कार्यान्वयन गरेर जाँदा नै यो देशको राजनीतिक अस्थिरतालाई स्थिरतामा परिणत गर्न र समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सक्छौँ । गठबन्धन हुँदा जे समझादारी भएको हो, त्यो कार्यान्वयन गर्नुपर्छ । लाखौँ नेता र कार्यकर्ता भएको पार्टीमा कसले कुन सन्दर्भमा के बोल्छ भन्नेकुरा पार्टीको आधिकारिक धारणा हुँदैन । केन्द्रिय समिति बसेर गरेको निर्णय नै आधिकारिक हुन्छ ।’

नेता सिंहले संविधानको भावना र मर्मअनुरुप चाँडो भन्दा चाँडो तीन तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस