विराटनगरका केही क्षेत्रमा आजदेखि २ महिनासम्म धर्ना-जुलुस निषेध

सफल खबर संवाददाता

सोमबार, ०१ असोज २०८०, ०९ : १३
विराटनगरका केही क्षेत्रमा आजदेखि २ महिनासम्म धर्ना-जुलुस निषेध

File pic

बिराटनगर । आजदेखि विराटनगर महानगरपालिकाका केही स्थानलाई स्थानीय प्रशासनले २ महिनासम्म निषेधित क्षेत्र तोकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को ६ (३ क) अनुसार निषेधित क्षेत्र तोकिएको हो । 

विराटनगर महानगरपालिकालाई केन्द्रमा राखेर विविध समूहबाट विरोध, धर्ना, जुलुस आयोजना भइरहने हुँदा असोज १ गते बिहान ६ बजेदेखि २ महिनासम्म निषेधाज्ञा जारी गरिएको कार्यालयको सूचनामा उल्लेख छ ।

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वतर्फलाई निषेधित क्षेत्र तोकिएको छ । 

निषेधित क्षेत्रमा कुनै पनि भेला, धर्ना, जुलुस, र्‍याली गर्न नपाइने कार्यालयले जनाएको छ । आदेश उल्लंघनगरी निषेधित क्षेत्रमा कुनै पनि भेला, धर्ना, जुलुस, र्‍याली गरे कानून बमोजिम कारबाही गरिने कार्यालयले जनाएको छ ।

पहिचानावादीहरुले आन्दोलन गर्ने सूचनाका  आधारमा आजदेखि निषेधित क्षेत्र तोकिएको कार्यालयले जनाएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार असोजको पहिलो हप्तादेखि नै विराटनगरमा पहिचानवादीले आन्दोलन र धर्ना शुरू गर्दैछन् । 

यस्तै शिक्षक, डाक्टर र पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका विषयमा पनि आन्दोलन हुने सूचना आएपछि प्रशासनले निषेधित क्षेत्र तोकेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले कार्यालय केन्द्रित धर्ना, जुलुसलाई मात्रै निषेधित क्षेत्र तोकेको बताए।

प्रतिक्रिया दिनुहोस