प्रयोगविहीन भयो एक करोड २८ लाखमा बनेको पुल

सफल खबर संवाददाता

शनिबार, ३० भदौ २०८०, ०८ : ०४
प्रयोगविहीन भयो एक करोड २८ लाखमा बनेको पुल

File pic

काठमाडौ । पाँचथरमा सयौँ स्थानमा सडक पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । स्थानीय तह निर्माणपछि सडकको ट्रयाक विस्तार गर्ने कार्य द्रुत हुँदा बस्ती, गाउँ, वडा र पालिकालाई जोड्न यहाँका दर्जनौँ खोलामा सडक पुल, कल्भट र कज–वे आवश्यक छ ।

सडक पुलसहितका पूर्वाधार निर्माणमा पर्याप्त बजेट नभएको गुनासो यत्रतत्र सुनिने गर्छ तर जिल्लामा सडक पुल निर्माण भएर चार वर्ष पनि प्रयोग नभई प्रयोगविहीन बनेको पनि पाइएको छ । 

विसं २०७३ मा निर्माण सम्पन्न भएको जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नं ४ पञ्चमी र वडा नं ५ सुभाङलाई जोड्ने सुभाङ खोला पुल प्रयोगविहीन बनेको हो । यो पुल रहेको स्थानभन्दा करिब सय मिटरमाथिबाट तमोर कोरिडोर सडक निर्माण भएपछि तीन वर्षदेखि पुल प्रयोगविहीन अवस्थामा छ । कोरिडोर निर्माणपछि पुलसम्म पुग्ने कच्ची सडक पनि क्षतिग्रस्त भएको छ । अहिले यो पुल सुभाङ खोलाको वारिपारिका कृषकको आवतजावतबाहेक अन्य प्रयोगमा छैन । 

हिलिहाङ–५ का खगेन्द्र योङहाङका अनुसार वर्षायाममा सुभाङ खोला पार गर्न समस्या भएपछि यहाँ पुल निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिमा स्थानीयवासीबाट माग भएको थियो । तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) र जिल्ला विकास समिति पाँचथरको संयुक्त लगानीमा १६ दशमलव ३० मिटरको पक्की पुल निर्माण भएको थियो । रु एक करोड २८ लाखको लागतमा इलामको गजुरमुखी निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गरेको थियो ।

पुल सञ्चालनमा आउनासाथ कोरिडोर निर्माण सुरु भयो । अहिले यो पुल रहेको स्थानबाट करिब सय मिटरमाथि कोरिडोरमा कल्भटबाट सवारीका साधन आवतजावत गर्ने गरेका छन् ।

कोरिडोरबाटै सवारीका साधन आवतजावत गर्न थालेको तीन वर्ष नाघिसकेको छ । तमोर कोरिडोर निर्माणको सर्वेका क्रममा यही पुललाई प्रयोग गर्न स्थानीयवासीले जोड दिए पनि प्राविधिक जटिलताले सम्भव नभएको स्थानीयवासीको भनाइ छ । 

हिलिहाङ–५ का तिलक सुहाङले राज्यको ठूलो लगानी खेर जाने अवस्था आएको वताए ।

प्रतिक्रिया दिनुहोस