एनआईसी एशिया बैंकले गर्‍यो ३० प्रतिशत लाभांश प्रस्ताव

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०८०, १३ : १६
एनआईसी एशिया बैंकले गर्‍यो ३० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले ३०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।यही भदौ २८ गते सम्पन्न बैंकको सञ्चालक समितिको ६२९ औं बैठकको निर्णयअनुसार उक्त प्रस्ताव गरिएको हो । आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत लाभांश (३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।​

बैंकका अनुसार प्रस्तावित लाभांश मध्ये २९ प्रतिशत बोनस शेयर (३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ) र १.५२६३ प्रतिशत नगद लाभांश (१७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय प्रस्ताव गरिएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६औं वार्षिक साधारणसभाको स्वीकृतिपश्चात् आवश्यक प्रक्रिया पूरा गरी बैंकका शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । ​

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६०८ एटीएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकले दाबी गरेको छ ।

कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय तहहरूमा बैंकले आफ्नो शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानलगायतका दुर्गम जिल्लाहरूमा वित्तीय समावेशीकरणका कार्यक्रम समेत सञ्चालन भइरहेको बैंकले जनाएको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना शहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस