दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ३ जना घाइते

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०८०, ०८ : २३
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ३ जना घाइते

काठमाडौ । सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा  एक जनाको मृत्यु भएको छ भने ३ वर्षीया बालिकासहित तीनजना घाइते भएका छन्।

बागमती नगरपालिका- ८ गाजलीचोकमा राजघाटबाट सोल्टी आइरहेको बा ३० प ९४०७ नम्बरको मोटरसाइकल र हरिवनबाट रौतहटतर्फ जाँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो आपसमा ठोकिँदा बा ३० प ९४०७ नम्बरको मोटरसाइकल चालक गणेश कार्कीको मृत्यु भएको हो।

बागमती नगरपालिका- ८ शंकरपुर निवासी ५० वर्षीय कार्की दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्को मोटरसाइकल सवार हरिवन- १ का ३२ वर्षीय मुकेश कुमार साह, उनकी श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी घाइते भएका छन्।

बालिकाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। 

मृतक कार्कीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।