सीके राउतले दिए सामान्य प्रशासनमन्त्रीलाई ६ सुझाव

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०८०, ०८ : ५४
सीके राउतले दिए सामान्य प्रशासनमन्त्रीलाई ६ सुझाव

काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले सङ्‍घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई ६ वटा सुझाव दिएका छन् ।  

साबिकदेखि हुने गरेको अनियमितता रोक्न बुधवार मन्त्रालयमा भएको छलफलपश्चात् मन्त्रीलाई केही सुझाव दिएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

सुझावको ३ बुँदामा क्रमशः मन्त्रालय परिसरमा चलखेल रोख्न सीसीटीभी जडान गर्ने, विचौलियाको प्रवेश रोक्ने र कसैले कसैसँग पैसा लिएर सरूवाबढुवा गर्न गराउनु नहुने समेटिएका छन् ।

कुनै बिचौलिया, कर्मचारी वा जोसुकैले सेवाग्राहीसँग सरूवाबढुवाका लागि पैसा मागेको छ भने ठोस प्रमाणसहित हामीलाई जानकारी गराउन आफूले मन्त्री साहलाई आग्रह गरेको सांसदसमेत रहेका राउतले बताएका छन् ।

यस्तै, पैसा कमाउने नियतले मन्त्रालयका कर्मचारीहरूलाई अन्यत्र सरुवा गर्ने, इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाको लागि पहल र निजामती सेवा ऐनमा समेट्नु पर्ने वा संशोधन गर्नुजस्ता विषय सुझावमा समेटिएका छन् ।  

‘सबै निजामती कर्मचारीहरूको कल्याण र भ्रष्टाचाररहित सार्वजनिक प्रशासन नै हाम्रो उद्देश्य हो । कृपया यस परिवर्तनको लागि साथ दिनुहोस्,’ राउतले फेसबुकमा लेखेका छन् । 

सामान्य प्रशासनमन्त्री साह राउत नेत्तृत्वको जनमत पार्टीको भागबाट मन्त्री बनेकी हुन् ।