सुन तस्करी प्रकरण

३ क्विन्टलभन्दा बढी सुन तस्करी पुष्टि, ५० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय

सफल खबर संवाददाता

बुधबार, २७ भदौ २०८०, ११ : ४२
३ क्विन्टलभन्दा बढी सुन तस्करी पुष्टि, ५० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले 'ब्रेक सु' लगायतका माध्यमबाट पछिल्लो समय ३ क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लगाएको दाबी गरेको छ । यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको छ ।

सीआईबीले पत्रकार सम्मेलनपछि बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गर्दै छ । सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गर्ने भएको छ ।

उनीहरुलाई सातवटा ऐनको दफा अनुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ ।

यो प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । ती मध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ । १८ जना फरार छन् । फरार मध्ये १४ जना विदेशी नागरिक हुन् ।

 

प्रतिक्रिया दिनुहोस