चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको गैँडाको खाग फेला परेको छैन । निकुञ्जको खगेन्द्र मल्ली पोष्टबाट सात किलोमिटरभित्र हर्दा खोला नजिक यही भदौ १२ गते गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गैँडा झण्डै १५ महिना पहिला मरेको आशङ्का गरिएको छ । वरपर क्षेत्रमा खोजी गर्दा ११ खुर फेला परेका छन् । एउटा खुर र खाग नभेटिएपछि चोरीशिकारीले गैँडा मारिएको आशङ्का गरिएको छ ।
गैँडाको कङ्काल भेटिएसँगै निकुञ्जको चोरीशिकार नियन्त्रण एकाइले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) सँग समन्वय गरेर खोजी कार्य अघि बढाएको छ । गैँडाको कङ्काल मात्रै भएकाले लिङ्ग र उमेर पहिचान हुन सकेको छैन । तिवारीले लामो समय भएकाले खाग उक्किएर हराएको पनि हुनसक्ने आशङ्का गरे । उनले भने, “खाग नभेटिएपछि चोरीशिकारको आशङ्कामा अनुसन्धान अघि बढाएका छौँ ।”
गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारी गर्नेले मारेका थिए । सो घटनामा संलग्नलाई निकुञ्जले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । चालु आर्थिक वर्षमा यो सहित अर्को एउटा गैँडा बाघको आक्रमणबाट मरेको छ । वर्षात्को समयमा गाडीबाट गस्ती गर्न कठिन हुने भएकाले चोरीशिकार हुनसक्ने भन्दै निकुञ्जले सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २५ भदौ २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
पाँच महिनामा चार हात्तीले जन्माए छावा
जंगली हात्तीको आक्रमणबाट निकुञ्ज सुरक्षामा खटिएका सैनिक घाइते
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ