'सरकारी अस्पताल भनेर सेवा लिन आयो, औषधिजति मेडिकलबाट महँगोमा किन्नुपर्छ'

पत्रपत्रिकाबाट

शनिबार, ०२ भदौ २०७५, ०९ : ११
'सरकारी अस्पताल भनेर सेवा लिन आयो, औषधिजति मेडिकलबाट महँगोमा किन्नुपर्छ'

गोरखा  । जिल्ला अस्पतालको फार्मेसीमा आवश्यक औषधि नभएको बिरामीले गुनासो गरेका छन् । अस्पतालले आफैँ फार्मेसी सेवा सञ्चालन गरे पनि निःशुल्क औषधिसमेत बाहिरबाट किन्नुपरेको बिरामीका आफन्तको भनाइ छ ।

म तीन महिनादेखि बुबाको चेकजाँचका लागि निरन्तर आइरहेको छु, अस्पताल परिसरमा भेटिएका हर्क रानाले भन्नुभयो, निशुल्क औषधि पनि बाहिर किनेर लैजानु परेको छ, भित्र पाइँदैन । ८१ प्रकारका औषधि निःशुल्क उपलब्ध गराएको अस्पतालले दाबी गरे पनि एमोक्ससिलिन जस्ता सर्वसुलभ औषधि त्यहाँको फार्मेसीमा छैन ।

देशभरका स्वास्थ्य संस्थामा निःशुल्क भनिएको उक्त औषधि जिल्ला अस्पताल गोरखामा विगत २ महिनायता नभएको अस्पताल स्रोतले बताएको छ । सामान्य समस्या ज्वरो, रुघाखोकीका बिरामीले पनि अस्पतालबाट औषधि पाएका छैनन् ।
फार्मेसीका स्वास्थ्यकर्मीले औषधि छैन भन्दै अनेक आलटाल गरेर बिरामीलाई रित्तै पठाउने गरेको अस्पताल परिसरमा भेटिएका अर्का सेवाग्राही सुमन गुरुङले बताउनुभयो ।

सरकारी अस्पताल भनेर सेवा लिन आयो, औषधिजति मेडिकलबाट महँगोमा किन्नुपर्छ, उहाँले भन्नुभयो, फार्मेसीमा औषधि ल्याए त मेडिकलले के व्यापार गरुन् र ?, अहिले अस्पतालको फार्मेसीमा निःशुल्क भनिएका आधा पनि औषधि छैनन् । मेडिकलसँगको मिलेमतोमा अस्पतालले औषधि खरिदमा चासो नदिएको कतिपयको आरोप छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस