आइएमई मोटर्स बन्यो स्वीच मोबिलिटी र अशोक लेल्याण्ड जेनेरेटरको आधिकारिक वितरक​

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०८०, १५ : ११
आइएमई मोटर्स बन्यो स्वीच मोबिलिटी र अशोक लेल्याण्ड जेनेरेटरको आधिकारिक वितरक​

काठमाडौं। आइएमई मोटर्स नेपालले स्वीच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक विक्री–वितरण गर्ने जिम्मेवारी पाएको छ ।अशोक लेल्याण्डको ७५औं वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित एक विशेष समारोहका बीच सयसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

 

सम्झौतामा स्वीच मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत महेशबाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणीकले हस्ताक्षर गरेका छन् । अशोक लेल्याण्डका अध्यक्ष धिरज हिन्दूजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरेका थिए ।

भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्याण्डको सब्सीडिएरी कम्पनी स्वीच मोबिलिटीले विद्युतीय सवारीसाधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारी साधनहरू उत्पादन तथा वितरण शुरु गरेको छ ।

 

यो कम्पनी सन् २०२० मा अशोक लेल्याण्डको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो । अशोक लेल्याण्डको ७५औं वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहबीच भारतीय यातायात मन्त्री नीतीन गड्करीले स्वीच मोबिलिटीद्वारा उत्पादित हलुका व्यावसायिक विद्युतीय सवारी साधनको उद्‌घाटन गरेका हुन् ।​

त्यसैगरी, आइएमई मोटर्स अशोक लेल्याण्डका डिजेल जेनेरेटर (जेनसेट) को पनि विक्री वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ । अशोक लेल्याण्डले आफ्नो उत्पादन पोर्टफोलियोको एक अंगको रुपमा डिजेल जेनेरेटरहरू उत्पादन गर्दै आएको छ ।

अशोक लेल्याण्डका जेनेरेटर आवासीय, व्यावसायिक, औद्योगिक र कृषिलगायत विभिन्न क्षेत्रमा भरपर्दो र विश्वसनीय ऊर्जा परिपूर्तिका लागि डिजाइन गरिएको छ । अशोक लेल्याण्ड प्रसिद्ध व्यावसायिक समूह हिन्दूजा ग्रुपको प्रमुख कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस