काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित गर्दै दुर्घटना न्यूनीकरण गर्न दुर्गम पहाडी क्षेत्रमा इनरुट वेदर क्यामेरा (हवाई मार्गको मौसमबारे जानकारी दिने क्यामेरा) जडान थालेको छ ।
प्राधिकरणले काठमाडौं–सोलुखुम्बुको लुक्ला रुटमा राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा यस्तो क्यामेरा जडान गरेर मंगलवारदेखि सञ्चालनमा ल्याएको हो ।हवाई रुटमा पर्ने मौसमको बारेमा उडान अगाडि नै जानकारी लिने र अनुकूल मौसममा मात्रै उडान गर्न क्यामेराले सहयोग गर्ने भएको छ । क्यामेरा जडानपछि मौसमको कारणले हुने जोखिम कम गर्न सहयोग पुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार काठमाडौं लुक्ला सेक्टरको हवाई रूटलाई सुरक्षित बनाउन र यो क्षेत्रमा हुने दुर्घटना रोक्ने उद्देश्यले फाप्लुको उत्तरपूर्वी क्षेत्र अन्तर्गत लाम्जुरा क्षेत्रमा यस्तो क्यामेरा जडान गरिएको हो ।
अहिले प्राधिकरणले हवाई रुटमा मौसमका कारण देखिएको चुनौतिपूर्ण क्षेत्रलाई प्राथमिकता दिएर अत्यावस्यक भौगोलिक अवस्थाका क्षेत्रमा इनरुट क्यामेरा जडान गर्दै जान थालेको हो ।यस अघि पोखरा जोमसोममा पनि राष्ट्रिय आविष्कार केन्द्रकै सहकार्यमा त्यो क्षेत्रको कभरेज गर्न ३ वटा क्यामेरा जडान भएको थियो ।
अब प्राधिकरणले डोल्पा–सिमिकोट क्षेत्रको इनरुट न्याभिगेसनलाई इन्ह्यान्स गर्न क्यामेरा जडानको तयारी गरिरहेको छ ।आवश्यकता अनुसारका सबै रुटमा क्यामेरा जडान गरेर उडान सुरक्षालाई सबल बनाउने प्रयास हुने प्राधिकरणका सूचना अधिकारी भुलले बताए ।
क्यामेरा जडानको प्राविधिक पाटो भने राष्ट्रिय आविष्कार केन्द्रले नै गर्ने गरी प्राधिकरणसँग सम्झौता भएको छ ।प्राधिकरणले यस अघि पोखरा जोमसोम खण्डमा गरेको सम्झौता अनुसार नै अरू खण्डमा पनि आविष्कार केन्द्रले क्यामेरा जडान गर्दै जाने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, १५ : १९
लेखकबाट थप