वैदेशिक रोजगारीका लागि नक्कली विज्ञापनको बिगबिगी

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०८०, १२ : ५७
वैदेशिक रोजगारीका लागि नक्कली विज्ञापनको बिगबिगी

काठमाडौं। वैदेशिक रोजगारीका लागि क्यानडा जान फारम भरेका नेपालीहरू ठगीमा परेका छन् । ३४ लाख रुपैयाँ ठगिएपछि मात्रै आफूहरू ठगीमा परेको सुइँको उनीहरूले पाएका थिए ।त्यसपछि उनीहरू प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरूले ठूलो रकम गुमाएका हुन् ।अनुसन्धानका क्रममा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत पाँच लाख ४५ हजार रुपैयाँ तलब हुने लोभ देखाएर ठगी गरेको पाइएको थियो ।

“क्यानडा जानका लागि प्रोसेसका लागि आइएलटिएस सर्टिफिकेट र सीभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू पठाइदिनुहोस् भनी पटक–पटक ह्वाट्सएपबाट माग गरेको पाइयो, त्यसपछि पीडितले कागजात पठाएका थिए,” प्रहरी उपरीक्षक रेग्मीले भने, “उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरूका नाममा रहेको बैंक खातामा पैसा हाल्न लगाएको भेटियो ।”​

पीडितलाई त्यसरी लोभ्याएर पटक/पटक गरी जम्मा रु ३४ लाख ५७ हजार पठाउन लगाई ठगी गरेपछि उनीहरू सम्पर्कविहीन भएको जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा टोली परिचालन गरी खोजी थालिएको प्रहरीले जनाएको छ ।

यसरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा सङ्लग्न पाइएपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ बस्ने ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरीको राजविराज नगरपालिका–४ का ३५ वर्षीय महावीरप्रसाद साहलाई पक्राउ गरी कानूनी कारवाही शुरु भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस