सरकारले जग्गा उपलब्ध गराओस्, रंगशाला बनाउन हामी पहल गर्छौं :बालेन्द्र शाह

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०८०, ११ : ०५
सरकारले जग्गा उपलब्ध गराओस्, रंगशाला बनाउन हामी पहल गर्छौं :बालेन्द्र शाह

काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले संघीय सरकारले जग्गा उपलब्ध गराए श्रीलंकाकै स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन् । सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका बालेनले मंगलबार बिहान सरकारले जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रतिवद्धता जनाएका हुन्। सोमबार भएको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको थियो । 

 

नेपाल-भारतको खेल भएको जत्तिको रंगशाला ८०-९० करोडमै बन्न सक्ने उनले बताएका छन् । 'त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०-९० करोडमा नै बन्छ सायद,' फेसबुकमा उनले लेखेका छन्।,

'नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।'यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्ने उनको भनाइ छ । एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस