विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छ : ऊर्जामन्त्री बस्नेत

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०८०, १३ : ४३
विद्युत विधेयक छिट्टै संसदमा पेश हुन्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौं  । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन । मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश हुने बताएका हुन। उनले सञ्चारकर्मीमाझ सो जानकारी गराए । ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसदमा पेश गर्न लागेको मन्त्री बस्नेतको भनाई थियो । उनले सो विधेयक चालु संसद अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। मन्त्री बस्नेतले सो विधेयकलाई चालु संसद अधिवेशनबाटै पारित गराउने गरी सांसदहरुसँग औपचारिक÷अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताए ।

नले भने, ‘पार्लियामेण्टमा हामी दर्ता गर्दैछौं । क्याविनेटले पार्लियामेण्टमा दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टै अब हामी विद्युत विधेयक संसदमा पेश गर्छौं । यही अधिवेशनबाट नै त्यसलाई अन्तिम रुप दिने हाम्रो प्रयास हुनेछ । त्यस अनुसार हामी पार्लियामेण्टका मेम्बरहरुसँग पनि औपचारिक, अनौपचारिक छलफल गरिरहेका छौं । र, हाम्रो के विश्वास छ भने यो विधेयकले ऐनको रुप लिइसकेपछि अब ऊर्जा क्षेत्रको उत्पादन वृद्धि गर्नका लागि, प्रशारण लाइनलाई थप बिस्तार र व्यवस्थित गर्नका लागि, वितरण प्रणालीलाई गुणात्मक बनाउनका लागि, गुणस्तरीय बनाउनका लागि र यसको निर्यातलाई व्यवस्थित गर्नका लागि मद्दत गर्नेछ । र, यस क्षेत्रको विकासका लागि र विस्तारको लागि त्यो निकै महत्वपूर्ण हुनेछ अहिलेको विद्युत विधेयक भन्ने हामीले विश्वास लिएका छौं ।’

त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले मुलुकको समृद्धि, विद्युतको आन्तरिक खपत र वातावरणीय प्रदुषणलाई न्युनिकरण गर्दै लैजान पनि विद्युतीय सवारी साधनहरुको प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस