आरजु राणा संसदीय समिति सभापतिको उम्मेदवार, कांग्रेसबाट अरु को–को छन् ?

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १० : २७
आरजु राणा संसदीय समिति सभापतिको उम्मेदवार, कांग्रेसबाट अरु को–को छन् ?

काठमाडौ । सत्तारूढ कांग्रेसले विभिन्न संसदीय समितिका सभापतिको उम्मेदवारको टुंगो लगाएको छ ।

समिति सभापतिको लागि मनोनयन हुने भन्दै पार्टीका तर्फबाट चार उम्मेदवारको टुंगो लगाएको कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिइन् । सांसद एव सभापति शेरबहादुर देउवा पत्नी आरजुको पनि समितिमा सभापतिको उम्मेदवार बन्ने भएकी छिन् । 

उनका अनुसार कांग्रेसबाट जीवन परियार, आरजु राणा, रामहरि खतिवडा र सन्तोष चालिसेको नाम टुंगो लागेको हो । ‘संसदीय समितिको सभापतिका लागि आजै १२ बजे मनोनयन छ । हाम्रो तर्फबाट समितिको सभापतिको लागि चार उम्मेदवारको टुंगो लागेको छ,’ थिङले भनिन्, ‘हाम्रो तर्फबाट जीवन परियार, आरजु राणा, रामहरि खतिवडा र सन्तोष चालिसेको नाम टुंगो लागेको छ ।’

तर कुन समितिको को उम्मेदवार बन्ने भन्ने अझै फाइनल टुंगो नभएको जानकारी उनले बताइन् । अहिलेसम्मको तयारी अनुसार संसदीय सुनुवाइमा जीवन परियार, राज्य व्यवस्थामा रामहरि खतिवडा, कृषिमा आरजु र अर्थमा सन्तोष चालिसे उम्मेदवार बन्ने तयारी भएको छ । 

खतिवडाले राज्य व्यवस्थाको टुंगो लागेको जानकारी दिए । तर संसदीय सुनुवाइमा लागि समितिको सभापतिमा आफूलाई उम्मेदवार बनाउने तयारीबारे कुनै जानकारी नआएको परियारले जानकारी दिए । 

संसदीय समितिको सभापतिमा कांग्रेसले ४, एमालेले ३, माओवादीले २, नेकपा एस र जनमतले पनि एकएक समितिको सभापति पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस