नेपाल भ्रमणमा आउँदै अमेरिकाका प्रभावशाली सिनेटर होलेन

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०८०, ०८ : ३८
नेपाल भ्रमणमा आउँदै अमेरिकाका प्रभावशाली सिनेटर होलेन

काठमाडौ । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका छन्। उनी सेप्टेम्बर पहिलो साता काठमाडौँ पुग्ने कार्यतालिका रहेको जनाइएको छ। 

सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने जनाइएको छ। उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ। 

उनको भ्रमणले नेपाल र अमेरिकाको राजनीतिक तथा व्यावसायिक साझेदारी मजबुत हुने विश्वास लिइएको छ। त्यसैगरी उनले अमेरिकाको नेपालमा हुने सहयोगबारे समेत छलफल गर्नेछन्। खासगरी स्वास्थ्य क्षेत्रमा र विद्युत् तथा यातायात पूर्वाधारमा महत्त्वपूर्ण लगानीको आधार तय गरिनेछ।

सिनेटर क्रिसको अफिसले दिएको जानकारीअनुसार उनको यो भ्रमणले दक्षिण एसियाली देश र अमेरिकाबीच मजबुत र अर्थपूर्ण साझेदारी हुनेछ। भ्रमणका क्रममा सिनेटर क्रिसले बृहत्तम विषयमा र सामूहिक सुरक्षाको चासोको विषयमा समेत छलफल गर्ने अपेक्षा गरिएको जनाइएको छ। 

यसैगरी आर्थिक अवसर, जलवायु परिवर्तनको असर, मानव अधिकार रक्षालगायत विषयमा विस्तृत रुपमा छलफल हुनेछ। सिनेटर होलेनले यो भ्रमणले त्यस क्षेत्रका देश र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने अपेक्षा रहेको बताएका छन्। 

नेपाल, श्रीलङ्का र माल्दिभ्सको भ्रमणमा निस्कन लागेका होलेन आठदिने भ्रमणका क्रममा ५० भन्दा बढी बैठकमा सहभागी हुने जनाइएको छ। क्रिस भ्यान होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन्। 

अन्तरपार्टी सम्बन्धमा समेत आफ्नो मजबुत छवि बनाएका सिनेटर होलेनले नेपाल अमेरिकाको सम्बन्धको बीच महत्त्वपूर्ण कामसमेत गरेका छन्। उनले सन् २०२१ मा मेरिल्यान्ड राज्यका डेलिगेट डा ह्यारी भण्डारीको अफिससँगको समन्वयमा नेपालका युवा नेतासँग समेत भर्चुअल माध्यमबाट यस अगाडि नै छलफलसमेत गरिसकेका छन्। 

प्रतिक्रिया दिनुहोस