गौराले आपसी सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ बनाउन सहयोग पुगेको छ: पूर्वराष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०८०, १२ : २९
गौराले आपसी सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ बनाउन सहयोग पुगेको छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म मनाइने यस पर्व जस्ता मौलिक चाडहरूले विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति¸ भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपालीहरूको बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन योगदान गर्ने बताए ।

जारी शुभकामना सन्देशमा भनिएको छ,‘यस पर्वले हामी सबैलाई समाजमा विद्यमान अन्धविश्‍वास‚ सबै प्रकारका विभेद तथा विसंगतिहरूलाई अन्त्य गरी समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

गौरा (पार्वती) र महादेव (शिव)को पूजा आराधना गरी व्रत बस्नाले ईष्ट र कुलदेवता प्रसन्न भई पारिवारिक सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । आजदेखि मध्य तथा सुदुरपश्चिम नेपालमा गौरा पर्व धुमधामले मनाइँदैछ ।

 

प्रतिक्रिया दिनुहोस