‘लाइफलाइन’ले मधेशका जनतामा जगाएको आशा

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०८०, ०९ : ४६
‘लाइफलाइन’ले मधेशका जनतामा जगाएको आशा

पर्सा । कुनै बेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरूप यति बेला फेरिएको छ। बजारको स्वरूप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालेको छ। 

सिरहाको बरियारपट्टी बजार पनि अहिले सुगम क्षेत्रका रूपमा आफ्नो पहिचान फेर्न लागेको छ । भारतीय सीमा नाका लदनियाँ बजारसँगै टाँसिएको बरियारपट्टी बजारमा धमाधम ठूला लगानीका पसल खुल्न थालेको छ भने बजारमा सर्वसाधारणको चहलपहलसमेत बढेको स्थानीयवासी बताउँछन्।

‘पहिला पहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहाँभित्र साना व्यवसाय मात्र थियो’, धनुषाको औरहीका विनोद यादव भन्छन्, ‘तर अहिले सडक फराकिलोसँगै बजारमा पक्की भवन र ठूला पसलहरू खुल्न थालेका छन्।’ 

पर्साको ठोरी गाउँपालिकालाई केही वर्ष अघिसम्म दुर्गम क्षेत्रको रूपमा मानिथ्यो । तर अहिले ठोरीले आफ्नो पुरानो पहिचान फेरेको छ। 

यति बेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेको छ। 

सडक सञ्जालको विकास नहुनु र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको ठोरी अहिले हुलाकी सडक कालोपत्र भएसँगै विकासको गतिमा अघि बढेको छ। पूर्व–पश्चिम हुलाकी सडक कालोपत्र भएसँगै ठोरीका स्थानीयको अनुहारमा यति बेला मुस्कान छाएको छ। 

हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्जदेखि ठोरीसम्मको सडक कालोपत्र भएपछि सदरमुकाम वीरगञ्ज पुग्न सहज भएको छ।

 ‘वीरगञ्जदेखि ठोरीसम्मको दूरी झन्डै ५२ किलोमिटर पर्छ, गाउँबाट वीरगञ्ज बजार पुग्न पहिला मोटरसाइकलमा सात आठ घण्टासम्म लाग्दथ्यो’, ठोरी गाउँपालिका–४ का ललित श्रेष्ठ भन्छन्, ‘सडक कालोपत्र भएपछि अहिले एक घण्टामै पुग्छौँ ।’ अब धुलो र हिलोबाट समेत हामीले मुक्ति पाएको उनको भनाइ छ। 

पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरी पर्यटन र कृषिको प्रशस्त सम्भावना रहे पनि सडक सुविधा नहुँदा यहाँका बासिन्दाको जीवनस्तर माथि उठ्न सकेको थिएन।

 ‘पहिला गाउँमा उत्पादन भएको तरकारी तथा फलफूल सहज रूपमा वीरगञ्ज बजार पुर्‍याउन समस्या हुन्थ्यो’, बहुदरमाई नगरपालिकाका श्रवण महतो भन्छन्, ‘तर अहिले यो सडकमा थुप्रै सङ्ख्यामा अटो रिक्साहरू चल्न थालेपछि सहजै तरकारी, फलफूल बजार पुर्‍याउन सकेका छौँ।’ 

छोटो समयमै धनुषा र सिरहासहित मधेस प्रदेशका ग्रामीण क्षेत्रमा आएको परिवर्तन अन्य कुनै कारणले नभई मधेसकै ‘लाइफ लाइन’ को रूपमा मानिएको हुलाकी सडक निर्माणसँगै सम्भव भएको हो। 

देशकै पुरानो राजमार्गहरूमध्ये पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लामा सडक निर्माणको काम तीव्र रूपमा अघि बढेसँगै दुर्गम मानिएका ग्रामीण क्षेत्रहरू अहिले सुगम क्षेत्र बन्दै गएको छ।

हुलाकी सडकको निर्माणको काम शुरु भएपछि यो भेगका सर्वसाधारणसमेत खुशी भएका छन्। हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनुका साथै हजारौँ युवामा रोजगारीको अवसर सिर्जना हुने उनीहरूको विश्वास छ।

हुलाकी सडक विस्तार र स्तरोन्नतिको कामले सिरहाको आधा दर्जन पालिकाको विकासमा ठूलो टेवा पुगेको सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहता बताउँछन्। 

‘हुलाकी राजमार्ग बनेपछि जग्गाजमिनको मूल्याङ्कनसमेत बढ्दै गएको छ’, सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव भन्छन्, ‘पहिला मुस्किलले प्रतिकठ्ठा २० लाखमा बिक्री हुने जग्गाहरू अहिले कठ्ठाको ६० देखि ७० लाख रुपैयाँमा बिक्री हुन थालेको छ।’ 

‘सडक निर्माणका कारण गाउँ र बजारको दूरी घटेको छ, गाउँका स्थानीय बजार आएर सहजै किनबेच गरिरहेकाले व्यापार बढेको छ’, सप्तरीको बोदेबर्साइनका व्यापारी दीपेन्द्र मण्डल भन्छन्, ‘पहिला सडक जीर्ण हुँदा गाउँबाट बजार आउन स्थानीयलाई समस्या हुन्थ्यो, अहिले बजारसम्म आउन सहज भएको छ, त्यसैले बिक्री बढेको छ।’ सडक निर्माणले गाउँ र बजारलाई जोड्ने काम समेत गरेको मण्डलको भनाइ छ।

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म झन्डै साढे पाँच सय किलोमिटर सडकमा कालोपत्र र ६० वटाभन्दा बढी पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ। 

पूर्व सप्तरीको कञ्चनपुरदेखि सदरमुकाम राजविराजसहित बलान खोलासम्मको ४६ किलोमिटर सडकमा पुलसँगै सडक निर्माणको काम तीव्र रूपमा भइरहेको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले जानकारी दिए।

 ‘पूर्व कञ्चनपुरदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा दुई वटा कन्ट्र्याक्टरमार्फत काम भइरहेको छ’, प्रमुख थापा भन्छन्, ‘अहिलेसम्म ३२ किलोमिटर सडकमा कालोपत्र सकिएको र बाँकी झन्डै आठ किलोमिटर सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम भइसकेको छ।’