कोशी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०८०, १६ : १५
कोशी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

विराटनगर । प्रमुख प्रतिपक्षी  दल नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्य उठेका थिए । उनीहरु सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार सभाध्यक्षको पनि मत प्रयोग गरेर विश्वासको मत लिएका थिए  । त्यसको विरोध गर्दै प्रतिपक्षी दलहरुले प्रदेशसभा बहिस्कार गरेका हुन् ।

बैठक सुरु भएलगतै बोलेका राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले  विश्वासको मत लिने प्रक्रियामा सभाध्यक्षबाट गैर संवैधानिक, गैर संसदीय अभ्यास भएका कारण बैठक बहिस्कार गर्ने बताए । उनीपछि बोलेका एमाले सांसद तिलकुमार मेन्याङ्बोले बैठकको अध्यक्षता गर्ने व्यक्तिले असंवैधानिक काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस