सुन तस्करी प्रकरण

उच्चस्तरीय समिति बनाउन दलहरु सहमत, तीन सदस्यीय कार्यदल गठन

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, ०६ : ४६
उच्चस्तरीय समिति बनाउन दलहरु सहमत, तीन सदस्यीय कार्यदल गठन

काठमाडौ । सुन तस्करी प्रकरणमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको छ। एमालेको मागअनुसार सत्तारुढ दल छानबिन समिति गठन गर्न तयार भएको हो। 

प्रधानमन्त्री प्रचण्डको आह्वानमा सोमबार अबेरसम्म सिंहदरबारमा बसेको संसदमा रहेका राष्ट्रिय दलका शीर्ष नेताहरुबीचको बैठकमा सत्तारुढ दल उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । 

तर त्यसको टीओआर के बनाउने भन्ने विषय टुंगिन बाँकी रहेको उनको भनाइ छ । ‘यो विषयमा होमवर्क गर्नुपर्ने भएकाले सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार गर्नेगरी भोलि बिहान ११ बजेसम्मको समय दिइएको छ । त्यसलाई अन्तिम रुप दिएर २ बजे शीर्ष तहको बैठक बस्ने सहमति भएको छ’, गिरीले भने। 

उनले सरकारले छानबिन समिति बनाउन तयार भइसकेको बताएको सन्दर्भमा यसमा प्रतिबद्ध रहिरहे मंगलबारको संसद खुल्न सक्ने बताए । 

सीआईबीले हाल गरिरहेको छानबिनलाई प्रभावित पार्ने एमालेको कुनै मनसाय नरहेको भन्दै गिरीले समग्र सुन तस्करीको विषयमा आवश्यक अनुसन्धान र प्रतिवेदन तयार गरेर सुझाव पेश गर्ने काम समितिले गर्ने बताए । 

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि छलफल सकारात्मक भएको बताए । ‘आज सबै विकल्प र सम्भावनाहरुमा छलफल भएको छ । भोलि बसेर सबै विषय टुंग्याउँछौँ’, उनले भने ।  उनले मंगलबार संसदको अवरोध खुल्ने पनि विश्वास व्यक्त गरे । 

यस्तै रास्वपाका सभापति रवि लामिछालेले सहमति बनेको र जिम्मेवारी पाएका नेताहरुले यससम्बन्धमा ड्राफ्ट तयार गरेपछि भोलि सबै विषय टुंगिने बताए ।

प्रतिक्रिया दिनुहोस