डोल्पामा नौ जनाले गरे १५ वर्षीया बालिकामाथि बलात्कार

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०८०, ११ : ५२
डोल्पामा नौ जनाले गरे १५ वर्षीया बालिकामाथि बलात्कार

सुर्खेत। डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ जना युवाहरू मिलेर १५ वर्षीया बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ। घटना घटेको छ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै घटना बाहिरिएको हो।

वडा नं ६ बस्ने बालिकामाथि स्थानीय युवाहरूले पटक पटक बलात्कार गरेको किटानी जाहेरी परिवारबाट जिल्ला प्रहरी कार्यालयमा आएपछि संलग्न नौ जना मध्ये तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

पक्राउ परेका तीन मध्ये दुई जनालाई जुम्लाबाट र एक जनालाई गाउँबाटै नियन्त्रणमा लिइएको हो। ६ जना युवा फरार छन्। फरार रहेकाहरूको खोजी कार्य तिव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ। फरार भएका युवालाई पक्राउ गर्न सजिलो होस् भनेर नियन्त्रणमा लिइएका युवाहरूको नाम प्रहरीले गोप्य राखेको छ।

बलात्कार भएकी बालिकाको पेटमा छ महिनाको गर्भ रहेको खुलेको छ। गर्भवती भएकी नाबालिकालाई हेरचाह केन्द्रमा स्थानान्तरण गर्नको लागि कर्णाली प्रदेश सुर्खेतमा समन्वय भइरहेको प्रहरीले जनाएको छ।

पीडित बालिकाको परिवार निम्न वर्गको भएकाले गाउँमै घटना मिलाउन दबाब दिइएको थियो। पछि बालिका गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको प्रहरीको भनाइ छ।