सगरमाथासहित हिमाल आरोहणको शुल्क बढ्ने

सफल खबर संवाददाता

मंगलबार, ३० साउन २०८०, १६ : २९
सगरमाथासहित हिमाल आरोहणको शुल्क बढ्ने

काठमाडौँ । सरकारले सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.)सहित अन्य हिमाल आरोहण शुल्क (रोयल्टी) वृद्धि गर्ने तयारी गरेको छ ।पर्यटन विभागका अनुसार सरकारले नयाँ संघीय पर्यटन विधेयकसँगै पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्दै हिमाल आरोहण शुल्क वृद्धि गर्ने तयारी गरेको हो । 

विभागका निर्देशक तथा प्रवक्ता युवराज खतिवडाका अनुसार पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनको तयारी भइरहेको छ । यो नियमावली संशोधनसँगै हाल मन्त्रालयले हेर्दै आएको पर्वतारोहण सम्बन्धी स्वीकृति, रोयल्टी संकलन तथा पर्वतारोहण नियमन तथा सुपरिवेक्षणसँगै सम्पूर्ण व्यवस्थापकीय अधिकार पर्यटन विभागलाई प्रत्यायोजन हुनेछ । 

यो सँगै हाल कायम पर्वतारोहण शुल्क (रोयल्टी) समेत केही परिमार्जन गर्ने तयारी रहेको उनले जानकारी दिए ।हाल सगरमाथा आरोहणका लागि नेपाली नागरिकले १८ हजार २५० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म (ऋतु अनुसार) शुल्क तिर्नुपर्छ भने विदेशी नागरिकले २ हजार ७५० अमेरिकी डलरदेखि ११ हजार डलरसम्म तिर्नुपर्ने हुन्छ । 

यस्तै, सगरमाथाबाहेकका अन्य आठ हजार मिटर रेञ्जका हिमालहरु आरोहण गर्दा नेपालीले २ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्छ भने विदेशीहरुले ४५० अमेरिकी डलरदेखि १ हजार ८०० डलरसम्म तिर्नुपर्ने हुन्छ ।

सोभन्दा तल ७ हजार ९९९ मिटरसम्मका उचाइका हिमाल आरोहण गर्दा रेञ्ज हेरी रोयल्टी लाग्ने गर्छ । सोही रोयल्टीलाई केही वृद्धि गर्ने तयारी सरकारले गरेको हो । यद्यपि, पर्वतारोहण सम्बन्धी नियमावली संशोधनपछि मन्त्रीपरिषद्को बैठकले पास गर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस